रोनाल्डोलाई कोकको बोतल प्रहार



काठमाडौँ। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन्।

उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे। फ्रान्स विरुद्धको खेलमा २ गोल गर्दै इरानी फुटबलर अली देईको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्न रोनाल्डो सफल भएका छन्।

यस खेलमा उनले दुबै गोल पेनाल्टीमार्फत गरेका थिए। दोस्रो पेनाल्टीमार्फत खेललाई २–२ गोलको बराबरीमा ल्याएपछि रोनाल्डोको खुसीको सीमा थिएन। तर, खुसीयाली मनाइरहेका रोनाल्डोमाथि अचानक एक समर्थकले कोकको बोतल प्रहार गरे। उक्त खेल बराबरी भएसँगै ४ अंक बटुलेको पोर्चुगल दोस्रो चरणमा छनोट भएको छ।

रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेल अघिको पत्रकार सम्मेलनका दौरानमा टेबुलमा राखिएका कोकाकोलाका बोतल हटाएका थिए। त्यसपछि पानीको बोतल उठाउँदै उनले सबैलाई पानी पिउन प्रेरित गरे। यस घटनाको भोलिपल्ट कोकाकोला कम्पनीको मार्केट भ्यालु ४ अर्ब अमेरिकी डलरले घटेको थियो।