काठमाडौँ। डिजिटल पत्रिका दुनियाँको अग्रिण स्थानमा रहेको अनलाइनखबर डट कमको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन्।
अनलाइनखबर नेपाल प्रा।लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो। यससँगै प्रा।लि।ले सम्पादक अरुण बरालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ।
अध्यक्ष धर्मराज भुसालले आइतबार कार्यालयमा आयोजित एक समारोहका बीच गाउँलेलाई स्वागत गरे। अनलाइन पत्रकारिता अब मूलधार बनिसकेको भन्दै अध्यक्ष भुसालले गाउँलेको सम्पादकीय नेतृत्वमा अनलाइनखबरले अझै उचाइ प्राप्त गर्ने विश्वास ब्यक्त गरे।
नवनियुक्त प्रधानसम्पादक गाउँलेले अनलाइनखबरको सन्तुलित र न्यायपूर्ण पत्रकारितालाई निरन्तरता दिइने बताए। उनले भने, ‘सत्ता र शक्तिसँग प्रश्न गर्छौं । गडबडी, भेदभाव र अन्याय सधैं हाम्रा कभर स्टोरी हुुनेछन्।’
तीन दशकदेखि पत्रकारितामा सक्रिय गाउँले पछिल्लो ६ वर्ष खोज पत्रकारिता केन्द्रको सम्पादक थिए। हिमाल खबरपत्रिकाको सम्पादकीय नेतृत्व गरिसकेका गाउँले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन्।
सम्पादक बरालको बिदाइ
यसैवीच अनलाइनखबरका सम्पादक अरुण बराललाई बिदाइ गरिएको छ। संस्थाका अध्यक्ष भुसालले ८ बर्षसम्म न्यूजरुमलाई नेतृत्व प्रदान गरेकोमा बराललाई धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।
निवर्तमान सम्पादक बरालले नेपालको नम्बर एक अनलाइनलाई लामो समय नेतृत्व गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै नयाँ अनुभवी र बरिष्ठ सञ्चारकर्मीलाई कार्यभार हस्तान्तरण गर्न पाउनु सुखद भएको बताए। कार्यक्रममा अनलाइनखबर डटकमका कार्यकारी निर्देशक सुरेश भुसाल एवं सम्पादकीय सहकर्मीहरुको उपस्थिति थियो।