रवि लामिछाने छापामार शैलीमा किन पुगे कञ्चनपुर?



महेन्द्रनगर। मंगलबार महेन्द्रनगरस्थित कञ्चनपुर जिल्ला अदालतको गेटबाट ‘सीधा कुरा जनतासँग’ प्रत्यक्ष प्रशारण गर्दा प्रस्तोता रवि लामिछाने पसिनाले निथु्रक्क थिए। महेन्द्रनगरको उखरमाउलो गर्मीले पसिना आउनु नौलो कुरा थिएन तर तुलनात्मक रुपमा चिसो दिनमा पनि उनी पसिनाले खल्खल् नुहाइरहेका थिए। हतास देखिएका उनले स्वीकार पनि गरे, ‘महेन्द्रनगरको गर्मीभन्दा मलाई अली ज्यादै पसिना आइरहेको छ।’

स्वाभाविकभन्दा धेरै पसिना आउनु पनि स्वाभाविक थियो किनभने उनी आफ्नो टेलिभिजन कार्यक्रम प्रस्तोताको करिअरमा अहिलेसम्मकै विवादास्पद मुद्दामा फेरि एक पटक बोल्दै थिए, त्यो पनि निर्मलाको जन्मथलोमैं। निर्मला प्रकरणमा नेपाल प्रहरीबाट परिचालित भएको आरोप खेप्दै आएका लामिछानेले अतिरिक्त पसिनामा डुबेर चलाइरहेको कार्यक्रम छापामार शैलीको पनि थियो, त्यसैले उनी हतास पनि देखिएका हुनुपर्छ।

देश दौडाहाको अन्तिम अंकका रुपमा मंगलबार कञ्चनपुर जिल्ला अदालतकै ढोकामा शरण परेर कार्यक्रम चलाउनु रविको बाध्यता पनि थियो। उनको महेन्द्रनगर यात्रा नै छापामार शैलीको थियो। कहाँ बस्ने, कार्यक्रम कहाँबाट गर्ने र कार्यक्रमका विषयवस्तु के हुने भन्ने उनले गोप्य राखेका थिए।

न्यूज–२४ को धनगढी ब्यूरोका प्रमुख हिक्मत रावलले मंगलबार बिहान मात्रै लामिछाने महेन्द्रनगर आइपुगेको फेसबुकमार्फत् जानकारी दिए । रविको टोली सोमबार साँझ नै महेन्द्रनगर आइपुगेको थियो तर, बासस्थानका बारेमा उनको टेलिभिजनका स्थानीय सम्वाददातालाई समेत थाहा थिएन। धेरैको अपेक्षाभन्दा फरक उनको टोली महेन्द्रनगरका नाम चलेका होटलमा बसेन, एकदमै नयाँ र पार्किङको पनि व्यवस्था नभएको होटलमा बस्यो।

महेन्द्रनगर आइपुगेपछि रवि लामिछानेको सेवा सत्कारमा धेरै मान्छे देखिएनन्, एकदुई जना त्यो पनि निर्मलाको हत्या प्रकरणमा सोझै नाम जोडिएका मान्छेले उनको खातिरदारी गरे।

मंगलबार बिहान हिक्मत रावलले फेसबुकमै कार्यक्रमस्थल र कार्यक्रममा प्रस्तुत हुने विषय सार्वजनिक गरे। कार्यक्रम स्थल थियो– होटल न्यू आनन्द जहाँ टोली अघिल्लो रात बसेको थिएन। कार्यक्रमका विषयमा निर्मला प्रकरण थिएन। बेलौरीमा भारतीय अतिक्रमण, वैज्ञानिक वन र महेन्द्रनगरको रिजर्भ एरियामा लिज माफियाको कब्जा तीन विषयमा मात्रै कार्यक्रम केन्द्रीत हुने उल्लेख गरियो। रावलले बिहान १० देखि १२ बजेसम्म होट न्यू आनन्दमा भेटघाट गर्न सकिने पनि फेसबुकमा लेखे।

तर, घटनाक्रम रावलले फेसबुकमा लेखेको भन्दा फरक रह्यो। भेटघाटको समय तोकिए पनि टोली बेलौरी हिंड्यो। साँझ न्यूआनन्दबाटै प्रत्यक्ष प्रसारण गर्ने भनियो तर अचानक अदालतको गेटबाट सुरु भयो। र, कार्यक्रमको सूचिमैं नरहेको निर्मला प्रकरण प्रमुख विषय बन्यो।

किन छापामार शैली अपनाइयो ?

रवि लामिछानेलाई आफू निर्मला प्रकरणमा प्रहरी प्रभावमा रहेको बोध हुनु र महेन्द्रनगरको जनमत प्रतिकूल रहेको थाहा पाउनु नै असिनपनि भएर छापामार शैलीमा कार्यक्रम गर्नुपरेको महेन्द्रनगरमा चर्चा छ।

उनको टोलीले महेन्द्रनगरमा दर्जनौं सर्वसाधारणको भनाई संकलन गरेको थियो। ती सबैले निर्मला प्रकरणमा प्रहरी र सरकार दोषी भएको बताएपछि आफूले चाहेजस्तो ‘बाइट फुटेज’ नै नपाउँदा रवि हतास भएको आकलन गरिंदैछ। अर्कोतर्फ, निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनकै घरमा भेट्न गएका रवि फर्कँदा खासै उत्साहित थिएनन्। पछिल्लो समय दुर्गादेवीले रविको अभीष्ट पूरा हुने खालका अभिव्यक्ति दिन छाडेको पाएपछि उनी खासै उत्साहित नदेखिएका हुन्।

उल्टो प्रयासमैं सक्काए कार्यक्रम

रविले तीनजना स्थानीय वासिन्दालाई प्रतिनिधि पात्र भन्दै महेन्द्रनगरका सर्वसाधारण के भन्छन् भन्ने फुटेज देखाए। ती तीनैजनाले सरकारले निर्मला प्रकरण नसुल्झाउने र अहिले जेजति काम भइरहेका छन् सबै ‘ढाकछोप’ गर्ने नियतका साथ भइरहेको प्रष्ट बताएपछि रवि झस्केका हुनुपर्छ।

उनले स्थानीय वासिन्दाहरुको मतको कदर नै नगरी जिल्ला अदालतबाट सफाई पाएका आठ प्रहरीको भजन गाए, दिलिपसिंह विष्टलाई हत्यारा करार गरे र न्यायका लागि लडिरहेका महेन्द्रनगरका पत्रकार खेम भण्डारीसहितका व्यक्तिलाई नांगेझार बनाउने आफ्नो पुरानो कोशिस जारी राखे।

रवि आफैले आफूलाई निर्मला प्रकरणमा परिचालित भएको प्रमाण पनि छोडेर गए। दिलिपसिंह विष्टको खल्तीको टुक्रा प्रमाण बन्न त सक्छ तर, दिलिपसिंह फस्ने शर्तमा मात्रै भन्ने आशय व्यक्त गरे। त्यो टुक्रा नक्कली प्रमाण खडा गर्ने प्रहरीविरुद्ध प्रमाण बन्न नसक्ने उनको आशय झल्कन्थ्यो।

प्रहरीले ३ भदौ २०७५ मा उखुबारीमा सर्टको टुक्रा फेला पारेको थियो। अघिल्लो दिन सादा पोशाकका प्रहरीले दिलिपको घरबाट सर्टको खल्ती च्यातेर ल्याएको हल्ला चलिसकेको थियो। उखुबारीमा पाइएको टुक्रा र दिलिपको सर्टको कपडा मिलेको भन्ने उनले ठोकुवा गरे जबकी प्रहरी प्रवक्ता कुबेरसिंह कडायतले आफूलाई त्यसबारेमा केही जानकारी नभएको बताइरहेका थिए।

उखुबारीमा पाइएको कपडाको टुक्रा र दिलिपको सर्ट एउटै भएकोले दिलिप नै अपराधी हो भन्ने उनको जोड रह्यो। त्यो टुक्रा उखुबारीमा कहिले खसेको हो वा फालिएको हो भन्नेमा उनले कुरै छेडेनन् । त्यो टुक्रा १० साउनमा उखुबारीमा नखसेको र धेरै पछि फालिएको प्रयोगशाला परीक्षणले देखाए नक्कली प्रमाण तयार गर्ने प्रहरीलाई के हुन्छ भन्ने उनले सोध्नै सकेनन्।

कार्यक्रमको आधा भाग रविले सफाई पाएका आठ प्रहरीको गुणगान र दिलिपसिंह विष्टलाई अपराधी सावित गर्ने उल्टो प्रयासमैं बिताए।

लिज माफियाप्रति नरम

रवि लामिछानेको घोषित कार्यक्रम एजेण्डामा रिजर्भ एरियाको लिज प्रकरण रहेपनि उनले त्यो विषयमा झारा टार्ने काम मात्रै गरेनन् कि धेरै हदसम्म लिज माफियालाई नै सफाइदिने कोशिस गरे। सो प्रकरण उठाइदिन सत्तारुढ दलका युवाको टोलीले भेटेरै उनलाई अनुरोध गरेको थियो। तर, उनले फासफुसे कुरा गरेर टुंग्याइदिए।

महेन्द्रनगर बजारको गुरुयोजनामा रिजर्भ राखिएको झण्डै २० विघा जग्गा लिजका नाममा प्रभावशाली व्यक्तिले हत्याएको प्रकरण हो लिज घोटाला। सो जग्गाको हालको मूल्य २० अर्ब रुपैयाँ अनुमान गरिएको छ। सो जग्गामा भीमदत्तका मेयर सुरेन्द्र विष्टको परिवार र होटेल ओपेरा जस्ता व्यापारिक समूहले कब्जा जमाएका छन्। प्रभावशाली व्यक्तिहरु नै सो काण्डमा संलग्न रहेकाले रविले त्यो प्रकरण फासफुसे तरिकाले उठाएको आक्षेप लगाउन थालिएको छ।

पुडासैनी विर्सेछन् 

कार्यक्रममा रविले फेरि दिलिपसिंह विष्टको उही फुटेज देखाए। अंगुर जिसी निर्मित त्यो फुटेज प्रमाण बन्न नसक्ने प्रष्ट हुँदा पनि उनले त्यही फुटेजलाई प्रमाण सावित गर्न खोजेका छन्। अचम्मको कुरा त के भने भिडियो फुटेज प्रमाण बन्ने भए अहिले रवि आफै जेलको लामो यात्रा गरिरहेका हुन्थे।

गत वर्ष पत्रकार शालिकराम पुडासैनीले मर्नुअघि आफैले खिचेको भिडियो अदालतले प्रमाण मानेको थिएन। त्यो भिडियो प्रमाण मानिएको भए रवि आत्महत्या दुरुत्साहनमा जेलभित्र हुने थिए। आफ्नो हकमा भिडियो प्रमाण नबन्ने तर दिलिपको हकमा प्रमाण बन्ने उनको तर्क हाँस्यास्पद मात्रै होइन, निर्लज्जताको पराकाष्ठा पनि हो।

सशंकित रवि

आफ्नो पुरानो बानीका कारण रविले यसपटक पनि निर्मलाकी आमा दुर्गादेवीलाई नै फेरि क्यामेरामा ल्याए। महेन्द्रनगर पुगेका उनलाई यसपटक निर्मलाका बुवालाई भेटेर कुरा गर्न र कार्यक्रममा स्थान दिन फेसबुकमार्फत् आग्रह पनि गरिएको थियो। तर, यज्ञराज पन्तले महेन्द्रनगरकै जनबोली बोल्ने पक्का थाहा पाएका उनले त्यो कोणलाई कार्यक्रममा समेटेनन्। यज्ञराजलाई स्थान दिए रवि स्वयंकै भण्डाफोड हुने निश्चित भएकाले पनि उनले त्यो पाटो हेर्न नसकेको बुझाई बनेको छ।

दुर्गादेवीको बोली पनि विस्तारै मत्थर हुँदै गएको छ। उनी अहिले ‘आफूलाई शंका मात्र लागेको’ भन्न थालेकी छन्। त्यही भएर हुनुपर्छ रविले यस पटक दुर्गालाई पनि कर्मकाण्डी स्थान मात्र दिए।

अघिल्लो दिनको होटल छोडर रवि मंगलबार अर्कै होटलमा सरे। दुई रात फरक–फरक होटलमा उनी किन बसे भन्ने यकिन भन्न नसकिएपनि निर्मला प्रकरणमा उनले आफ्नै भूमिका शंकास्पद ठानेर असुरक्षित महसुस गरेको हुनुपर्छ।

घोषित कार्यक्रमस्थल अचानक फेर्नुमा पनि उनको त्यही मनोविज्ञान रहेको सजिलै बुझिन्छ। निर्मला प्रकरण पनि कार्यक्रमको विषयवस्तु रहेको दुईचार घण्टा अगाडि मात्रै घोषणा गरिएको भए उनको प्रत्यक्ष प्रसारण हेर्न ठूलै भीड उर्लने सम्भावना रहेकोले पनि उनले त्यो विषयवस्तु लुकाएका हुनुपर्छ।

मानसखण्ड डटकमबाट साभार।