नेपाल लोकतान्त्रिकरणको प्रक्रियामा संक्रमण भइरहेको मुलुक हो । लोकतन्त्रलाई बलियो बनाउनका निम्ति लोकतान्त्रिकरणको अपरिहार्यताको बारेमा एउटा सानो लेखमा ब्याख्या गर्न सम्भव छैन । खैर, लोकतन्त्रका मुख्य आधारहरू सुशासन, सहभागिता, प्रतिष्पर्धा, विधिको शासन, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, न्यायीक निरूपण जस्ता कुराहरू हुन् । नेपालको वर्तमान अवस्थामा यी सन्दर्भहरूको बारेमा आम मान्छेहरू थोरधेरे जानकार नै छन् । अहिले मुलकको लोकतन्त्रमाथि अनेकौं प्रकारका प्रश्नहरू उठिरहेका छन् । सत्ता र शक्तिमा रहेकाहरूले कमजोर र निर्दाहरूको आवाज बन्द गर्ने कोसिससमेत गरिरहेका छन् । खासगरी वर्तमान लोकतन्त्रका निम्ति लडेको मिडियामाथि आज राज्यले अनेकन बाहाना बनाएर प्रतिशोध साधिरहेको छ । मिडियाकर्मीले प्रश्न गरेकै भरमा राज्यले थुन्ने, मुद्धा चलाउने जस्ता काम गरेको छ । स्वतन्त्रताको नाममा स्वच्छन्दता लोकतन्त्रले मान्दैन भन्ने कुरा मिडिया जगतलाई ज्ञात हुनुपर्छ । तथापी स—सना कमजोरी गरेकै भरमा अधिकार र क्षेत्राधिकार मिचेर कारबाही गर्ने, थुन्नेसम्मका कामगर्नु लोकतन्त्र विरोधि कुरा हो ।
प्रतिनिधि मुलुक उदारणका रूपमा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले यतिबेला अदालती अवहेलनाको मुद्धा खेपिरहेको विषयलाई लिन सकिन्छ । सामान्यतया न्यायीक सिद्धान्तका मूल्य मान्यतासमेतलाई मात दिनेगरी फूल बेञ्च बस्नेदेखि फौजदारी मुद्धा लगाउनेसम्मका काम भइरहेका छन् । जुन विषय प्रेस काउन्सिले सहजै समाधान गर्न सक्थ्यो र गल्ति भएकै रहेछ भनेपनि सचेत गराउन सक्थ्यो ।
पार्टीको आन्तरिक लोकतन्त्र
आज सञ्चार जगतले भोगिरहेको जस्तै पीडा पार्टीको आन्तरिक लोकतन्त्रले पनि भोगिरहेको छ । भनिन्छ, जनवाद बिनाको केन्द्रीयता निरंकुश हुन्छ भने केन्द्रीयता बिनाको जनवाद अराजक हुन्छ । स्थापित राजनीतिक दलहरू हुन् या नयाँ ? हामीले वर्तमान समयमा देखे/भोगिरहेका हरेक दलहरूको आन्तरिक लोकतन्त्र मृत प्रायः छ । राजनीति दलहरूको आन्तरिक लोकतन्त्र बलियो भएन भने मुलुकको लोकतन्त्र बलियो बन्न सक्दैन । भन्नलाई नेपाली कांग्रेस मुलुकको सबैभन्दा बढी लोकतान्त्रिक दल भनिन्छ । तर, उक्त दलको केन्द्रीय, प्रदेश र जिल्ला तहको नेतृत्वको आलोचना गरेकै भरमा पार्टीले नेताहरूलाई निष्काशन गरिहेको छ । कांग्रेस नेतृत्वसमेत यति अलोकतान्त्रिक र निर्मम बनेको समयमा कम्युनिष्ट पार्टी र अन्य नयाँ पार्टीको अवस्था कस्तो होला ? सामान्य मानिसलेसमेत सहज अनुमान गर्न सक्छन् ।
नेकपा एमालेबाट भीम रावल निष्काशन पर्नुको एउटै कारण हो नेतृत्वको खरो, दरो र यर्थात आलोचना । रावल आज घर न घाटको अवस्थमा छन् । पछिल्लो समय विन्दा पाण्डे, उषा किरणलाई एमाले पार्टीले कारबाही गरेको थियो । उनीहरूले पार्टी केन्द्रीय कार्यालय पार्टीकै सम्पत्तिबाट निर्माण गर्नुपर्ने राजनीतिक कुरा गरेका थिए । तीनै कुरा सामाजिक सञ्जालमा लेखेका थिए ।
अहिले नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको निक्कै चर्चा भइरहेको छ । असार १३ गतेदेखि २४ गतेसम्म बसेको लम्बेतान पार्टीको केन्द्रीय सचिवालय बैठकले अन्य के कति विषयमा छलफल र निर्णय गर्यो ? त्यो सबै छायाँमा पर्यो । चर्चा रामकुमारी झाँक्रीको एउटा अभिव्यक्ति केन्द्र भागमा रह्यो । असार १४ गते लुम्बिनी युवा संघ नेपालको भेलामा पार्टी र पार्टी अध्यक्ष माधव नेपालमाथि अख्तियारले भ्रष्टचार मुद्धा चलाएपछि अनेकौं प्रश्न उठेको सन्दर्भ उल्लेख गर्दै झाँक्रीले पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूसमेत अनैतिक कार्यक्रमा संलग्न रहेका समाचार आइरहेको अवस्थामा पार्टीलाई पोखरी नभएर नदी बनाउनु पर्ने, अर्लि महाधिवेशन गर्नुपर्ने सन्दर्भलाई उल्लेख गरेकी थिइन । साथै उनले ‘सिनो’ शब्द प्रयोग गर्दै कडा रूपमा प्रस्तुत भएकी थिइन । सिनो शब्द, ब्याकरण, भाषा, प्रस्तुती आदीको अर्थ खोज्दै जादा अन्यत्र पुगिन्छ । तर, झाँक्रीको स्प्रीटलाई धेरैले नकारेको देखिन्न । पार्टीले उनलाई एक हप्ताको समय दिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । झाँक्रीको राजनीतिक इतिहास हेर्दा उनी झुकेको देखिदैन । झाँक्री नझुक्ने र पार्टी नरूक्ने अवस्था आयो भने एकीकृत समाजवादी थप संकटमा पर्ने देखिन्छ । तर, यस्तो अवस्थालाई दृष्टिगत गर्दै जिम्मेवार नेताहरूले बीचको बाटो खोज्नु नै बुद्धिमता हुनेछ ।
बैठकमै आलोचना गर्नेहरू किनारामा
माथि चर्चा गरिएझैँ पार्टी नेतृत्व र नीतिका बारेमा आफूलाई लागेको कुराहरू बैठकमा राख्ने पाइने अधिकार लेनिनवादी सिद्धान्तको मुख्य विशेषता हो । प्रश्न उठ्छ आजको दुनियाँमा मानिसहरू बैठक बस्ने टुङ्गो हुँदैन, कमिटी बन्ने ठेगान छैन, यस्तो अवस्था कसरी चुप लागेर बस्छन् ? अनि सामान्य मानिसको लोकतन्त्र कहाँ खोज्ने ? समय, परिस्थिति कहाँबाट कहाँ पुगिसक्छ । विषय र सन्दर्भ पुरोना भइसक्छ । हामीले मोबाइलमा एउटा आर्टिकल पढि नसक्दै प्रविधिमा नयाँ आयाम थपिन्छ र यसलाई स्वीकार गर्नुहोस् भन्ने आदेश दिन्छ । अर्को कुरा आजको जमनामा पार्टीभित्रको आन्तरिक लोकतन्त्रका बारेमा आम मानिसले बुझ्न र जान्न पाउँदैन ? कुन विषयमा कुन नेता कहाँ उभियो भनेर जान्न पाउनु जनताको अधिकार होइन ? चुनावमा भोट हाल्ने कसरी ? सामाजिक सञ्जाल नै आजको मुख्य हतियार हो । एउटा स्टाटस लेखेकै भरमा समाचार बन्छ । हिजो यहि एकलाइन समाचारको निम्ति दिनभर कुर्नुपर्ने र व्यक्तिलाई भेट्नपर्ने बाध्यता थियो । आज हरेक व्यक्तिले आफ्नो विचार, आलोचना र जवाफ सामाजिक सञ्जालमार्फत दिनसक्छ । अर्थात पार्टीका अनिश्चित बैठक कुर्न आवश्यक ठान्दैन । बरू परेको ब्यहोर्न तयार हुन्छ । खासमा यहि सन्दर्भकी पात्र हुन् रामकुमारी झाँक्री । पार्टीले के गर्छ र झाँक्रीले के गर्छन् ? त्यो समयले बताउँदै जाला ।
पुराना राजनीतिक दलहरूका शीर्ष नेताहरू पुरानै पाराले हिडिरहेको कुरा आजको सच्चाइ हो । राजनीतिक दलको सांगठनिक जीवनमा केन्द्रीयताको आवश्यक हुन्छ । तर, त्यो कतिसम्म आवश्यक हुन्छ ? भन्ने कुरा हो । उहिलेकै जस्तो आज केन्द्रीयता लाद्न खोजेर हुन्छ ? हुँदैन । माक्र्सवाद नविनतम विज्ञान हो । यसलाई व्यवहारिक र वैज्ञानिक बनाउन लेनिनवाद आवश्यक हुन्छ । अनि केन्द्रीयता आधुनिक अवस्था र आवश्यकतासँग मेल खानेगरी विकसित गर्नुपर्दैन ? जेन जी पुस्ता बोल्न नपाइने, लेख्न नपाईने र भन्न नपाईने पार्टीको राजनीतिमा लाग्छ ? लाग्दैन । बेलाको बोली सार्थक हुन्छ । बोल्न, लेख्न र भन्नका निम्ति पार्टीका बैठक नै कुर्नुपर्ने, बैठक बोलाओ भन्नुपर्ने, बैठकमा बोल्न पाउ भनेर याचना गर्नुपर्ने ? के हामीले लडेर ल्याएको लोतन्त्रले यस्तो केन्द्रीयतालाई स्वीकार गर्छ ? मलाई लाग्छ गर्दैन । बरू कुनै पनि विषयमा कुनै पनि व्यक्तिले बोलेपछि त्यसको बारेमा नाप तौल गर्ने निकाय वा व्यक्तिले फलानो मितिमा बोलेको, लेखेको र भनेको कुरा के हो ? भनेर बैठक बसेको बेला सोधे हुन्छ । छानविन गरे हुन्छ । जनवादी केन्द्रीयताको नाममा बेलाको बोलीमा लगाम लगाउने, लेख्न र बोल्न बन्देज गर्ने कुरा जनवाद र लोकतन्त्र विरोधि कुरा हो ।
लेनिनले आलोचकलाई एकसाथ लिएर काम गर्नुभयो । यता चिनमा माओले जनवादी केन्द्रीयताको विकास र विस्तार गर्ने क्रममा सर्वहार वर्गको अधिनायकत्वलाई एकता गर्ने कुरा गर्नुभएको थियो । के हाम्रो नेपालमा जनवाद र केन्द्रीयताका बारेमा नयाँ तरिकाले सोच्न सकिदैन ? नेपालमा केन्द्रीयताको नाममा पार्टीका नेता कार्यकर्ताहरूलाई लखेट्ने, कारबाही गर्ने, निष्काशन गर्ने जस्ता कामहरू भइरहेका छन् । जसको जमिन छैन, केवल नेताको चाकरी गर्ने, एम म्यान बन्ने दिनचर्या छ, त्यस्ता व्यक्तिहरूले आलोचक र विरोधिलाई अतिरिक्त केन्द्रीयताको डण्डा देखाएर तर्सान र बर्साउन खोज्छन् । अरिङ्गाल बन्ने काममा उद्धत रहन्छन् ।
जसका कारण नेपाली कम्युनिष्ट आन्दोलन छिन्नभिन्न छ । दर्जनौं पसल खोलेर साउजी बन्न बाध्य छन् । हेक्का राख्नुपर्ने कुरा के छ भने, केन्द्रीयताको अतिरिक्त प्रयोगका कारण रसियमा ट्राटस्की, बुखारिनलगायत हजारौंले वर्ग सत्रुका नाममा ज्यान गुमाउनु परेको थियो । यस सन्दर्भलाई गहन र मिहिन रूपमा विश्लेषण र संश्लेषण गर्दै नेपाली कम्युनिष्टहरूले आगामी यात्राका बारेमा चिन्तन गर्नुपर्छ । आफ्नो मुल सिद्धान्त नै छाडेर संसदीय अभ्यासमा अभ्यस्त भइरहेका कम्युनिष्टहरूले परम्परागत जनवादी केन्द्रीयतालाई समय सान्दर्भिक बनाउन अत्यन्तै ढिलो भइसकेको छ । यसको बारेमा पार्टीमा बसह र छलफल गर्न जति ढिलो उती क्षति हुने कुरा घाम जस्तै छ ।
अनावश्यक शब्द स्थापित
नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा निक्कै तल्लो स्तरका शब्दहरू प्रयोग भएको पाइन्छ । त्यो क्रम आजका दिनमा पनि रोकिएको छैन । खासमा नेतृत्व नै उस्तै हो कि ? शब्द प्रयोग गर्ने नेता उस्तै हुन् ? भन्ने सवाल जमिन्छ । लाल गद्धार, झोले, साइबर स्याल, दश भाई, सिनो जस्ता शब्दहरूका मालिक कम्युनिष्ट नै हुन् । कम्युनिष्टहरूको मिल्दा देवत्वकरण र नमिल्दा दानविकरण गर्ने तल्लो स्तरको राजनीतिबारे पनि मानिसहरू जानकार नै छन् । यो सब किन भइरहेको छ ? यसको एक लाईन जवाफ छ, टिके राजनीति ।
जबजको नाममा टिके राजनीति भइरहेको छ । माक्र्सवाद र लेनिनवादको नाममा भ्रष्ट राजनीति भइरहेको छ । विचारमा विचलन र व्यवहारमा नाङ्गो आन्दोलनले मुलुक र जनताको भलो गर्नसक्दैन । पार्टीको विचार, सिद्धान्त, कार्यक्रम जस्ता महत्वपूर्ण मुद्धाको छिनोफानो गर्ने पोलिट्ब्यूरो कमिटी र हरेक मुद्धाको निर्णायक मानिने केन्द्रीय कमिटी मुख्य नेताको भजन किर्तिनमा व्यस्त छन् । उहिलेका केन्द्रीय कमिटी र अहिलेका केन्द्रीय कमिटीहरूलाई तुलना गर्न आनाकानी गर्नुपर्ने अवस्था छ । विगतको विरासत जोगाउन र राजनीतिक मुद्धालाई स्थापित गर्न वर्तमान दलका केन्द्रीय कमिटी असफल छन् । किन कि अहिलेका केन्द्रीय कमिटी टिके हुन् । टिके कमिटी र सदस्यहरू आफ्नो नेताप्रति इमान्दार चम्चे, झोले र एस म्यान बन्ने प्रतिष्पर्धा गर्ने नै भए । साथै आफ्नो निर्वाचन प्रणालीलाई त्यागेर बहुदलिय प्रतिष्पर्धामा आएका कम्युनिष्टहरूले न त प्रतिष्पर्धालाई व्यवहारिक बनाउन सकेका छन् । न त योग्य, दक्ष, सक्रिय, इमान्दार, योगदान दिएकालाई छान्न सकेका छन् । कुनै विशेष पार्टीको कुरा होइन, टिके राजनीतिको ज्यादती र दादागिरी आम रुपमा देखिन थालेको छ ।
अन्त्यमा, राजनीतिलाई अपराधिकरण र अपराधलाई राजनीतिकरण गर्ने काम भइरहेका छन् । यो कुनै अमुक एउटा विशेष दलको ब्यथा होइन । राज्यमा रहँदा एउटा देख्ने र सडकमा आएपछि अर्को देख्ने खराब दृष्टिकोण नै आजको मुख्य समस्या हो । राजनीतिमा नैतिकता हुन्छ । इमान्दारिता हुन्छ । निष्ठा र त्याग भन्ने जिनिस पनि हुन्छ । यसअर्थ राज्य सत्ता र पार्टी सत्तालाई घाटसम्म लैजाने कुरालाई जायज नभनौं । झोले प्रवृत्ति पार्टी जीवनका निम्ति सर्वथा घातक हुन्छ । यसबाट बच्न र पार्टीलाई बचाउनु असली कम्युनिष्ट नेता कार्यकर्ताहरूको कर्तव्य हो ।
२७ असार २०८२, सौर्य दैनिकमा प्रकाशित




