कोहलपुर घटना: नेविसंघद्वारा काठमाडौँमा मसाल प्रदर्शन



काठमाडौँ। नेपाल विद्यार्थी संघले कोहलपुरमा आइतबार स्कुले बालबालिकामाथि भएको प्रहरी ज्यादतीको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ। सानासाना स्कूले बालबालिकामाथि प्रहरीले अन्धाधुन्द गोली चलाउँदा समेत सरकार मुखदर्शक बनेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।

 

प्रदर्शनमा विद्यार्थी संघका नेताकार्यकर्ताले पुलिस दमन बन्द गर, स्कुलले बालबालिकामाथि लाठीचार्ज गर्ने पुलिसलाई बर्खास्त गर, स्कुलले बालिकाको खुट्टामा ट्रक गुडाउने ट्रक चालकलाई कार्वाही गर, जस्ता नारा लगाएका थिए। विरोध कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएको नेविसंघ संघ आरआर क्याम्पसका इकाई सचिव अनुराग शाहले जानकारी दिए।

स्कूले विद्यार्थीमाथि दमन हुँदा समेत सरकारले कुनै चासो नदिएको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरिएको उनले बताए। प्रहरी प्रशासनले सत्ताको दास बनेर विद्यार्थी र सर्वसाधारण जनतालाई दुख दिएको समेत उनीहरुले आरोप लगाएका छन्।

यस्तै, नेविसंघले काठमाडौंको चाबहिलमा पनि विरोध प्रदर्शन गरेको छ। नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे। उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन्।

 

आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन्।