रास्वपाका नेता राजु खत्रीले झन्डा र ब्याच बागमतीमा सेलाउने



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु खत्रीले पार्टी परित्याग गर्दै झन्डा र ब्याच बागमतीमा सेलाउने बताएका छन्।

बिहीबार कलंकीस्थित शिखर पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर खत्री नेतृत्वको काठमाडौँ क्षेत्र नम्बर ९ र १० को टोलीले रास्वपाको झन्डा र ब्याच बागमती र विष्णुमती नदीमा सेलाउने बताए ।

रास्वपा जान्नेलाई नभई आफ्नालाई छान्ने पार्टी भएको आरोप खत्रीले लगाए । सभापति लामिछानेका कारण रास्वपा अस्तव्यस्त बनेको उनको दाबी छ । सहकारी ठगीमा मुछिएका लामिछानेका कारण रास्वपामा बस्न उपयुक्त नभएको भन्दै पार्टी परित्याग गरेको उनीहरूको तर्क थियो ।

पत्रकार सम्मेलनमा खत्रीले इलाम–२ को उपनिर्वाचनमा रास्वपाको पदाधिकारीहरूको ‘ओभर कण्फिडेण्ट्स’ ले गर्दा हार व्यहोर्नुपरेको र जमानत जफत हुने अवस्था बनेको बताए । अब रास्वपा काम नलाग्ने बनिसकेको खत्रीको भनाइ थियो । रास्वपाका सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले पार्टीले कारबाही गरेपछि खत्रीले नाटक गरेको बताए ।

‘उहाँ हाम्रो पार्टीको काठमाडौँ १० को निर्वाचन क्षेत्र समितिमा हुनुहुन्थ्यो । पार्टी अनुशासन विपरीत काम गरेपछि हामीले कारबाही गरेका थियौँ। त्यसपछि उहाँले नाटक गर्नु भएको हो,’ बुर्लाकोटीले भने ।

उनका अनुसार सामाजिक सञ्जालमा अनर्गल लेखेको, नक्कली पार्टी सदस्य बनाएको र पार्टीमा आउँदा ग्याङ बनाएकाले पार्टीले खत्रीलाई कारबाही गरेको थियो । काठमाडौँ– १० को निर्वाचन क्षेत्र संयोजकको जिम्मेवारी खोसेर सदस्यमा थन्काएपछि खत्रीले रास्वपा छोडेको उनको भनाइ छ ।