भ्रष्टाचार गर्नेलाई निर्ममतापूर्वक कारबाही गरिने: प्रधानमन्त्री ओली



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि चीनबाट कोरोना भाइरस रोकथाम र उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरिदको बचाउ गरेका छन्।

मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने बताए।

‘त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो,’उनले भने, ‘अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ। सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन्। तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ।’

उनले कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिन आग्रह गरे।

‘समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ। मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन, ’प्रधानमन्त्री ओलीले भने,‘भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन। कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन।’

यसअघि सरकारले चीनबाट स्वास्थ्य सामग्री ल्याउने जिम्मा ओम्नी इन्टरनेशनललाई दिएको थियो। उक्त कम्पनीलाई महंगोमा ठेक्का दिएको र सामान नै आपूर्ति गर्न नसक्ने भन्दै आलोचना भएको थियो।पछि सरकारे उक्त कम्पनीसँग सम्झौता रद्द गरेर स्वास्थ्य सामग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिएको छ।