काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गरेका छन्।
तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ। सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक थिए।
०७७ फागुन ११ मा औपचारिक रूपमा ग्यालेक्सी टेलिभिजनको औपचारिक घोषणासँगै लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक बनेका थिए । करिब १५ महिनापछि ०७९ असार १ मा उनी कम्पनीबाट बिदा भएका थिए । उनी प्रबन्ध निर्देशक भएको अवधिमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा धमाधम रकम आएको स्पष्ट हुने कागजात प्रहरी र सहकारी कार्यालयमा छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, चितवनको साहारा र पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा सारिएको पुष्टि हुने दस्तावेज अहिले सहकारी कार्यालय, प्रहरीका विभिन्न कार्यालय, सीआईबी, महानगर र अदालतसम्म पनि पुगेका छन् । तर सत्ताको प्रभावले अनुसन्धान अघि बढेको छैन ।
कान्तिपुरलाई प्राप्त सरकारी दस्तावेजअनुसार काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट मात्र लगानी भन्दै ६४ करोड रुपैयाँ गोर्खा मिडियामा सारिएको छ । आर्थिक वर्ष २०७८र७९ को विवरण सहकारी कार्यालयले संकलन गरेको छ । त्यस्तै बुटवलको सुप्रिम सहकारीबाट १५ करोड ३१ लाख र पोखराको सूर्यदर्शन सहकारीबाट ४ करोड ५० लाख गोर्खा मिडिया नेटवर्कको खातामा गएको छ ।यीमध्ये ३ करोडका कारोबार हुँदा मात्रै लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिएनन् । त्यस्तै चितवनको साहाराबाट १२ करोड पनि गोर्खा मिडियामा सारिएको विवरण प्रहरीले संकलन गरेको छ । तर कारोबारको मितिबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन ।
चार सहकारीबाट १३ करोड २६ लाख रवि लामिछाने, विपिनकुमार आचार्य, छविलाल जोशी, भूपेन्द्रबाबु राई, कुमार रम्तेलको माध्यमबाट गोर्खा मिडियामा सारिएको छ । त्यस्तै ८२ करोड ५५ लाख रुपैयाँ बिनामाध्यम गोर्खा मिडिया नेटवर्कको खातामा सारिएको छ । लामिछानेको नामबाट सुप्रिम सहकारीबाट ०७७ चैत १८ मा २ करोड, पोखराको सूर्यदर्शनबाट ०७८ असार ३१ मा १ करोड गोर्खा मिडियामा गएको देखिन्छ ।
यसैगरी गोर्खा मिडियाका तत्कालीन क्रियटिभ डाइरेक्टर तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सह–महामन्त्री विपिन आचार्यको माध्यमबाट पनि गोर्खा मिडियामा पैसा सारिएको छ । २०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड र पुस १२ मा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार गरी कुल २ करोड ५६ लाख १५ हजार रुपैयाँ गोर्खा मिडियामा गएको कागजातहरूबाट खुलेको छ । तर लामिछानेले भने सहकारीबाट गोर्खा मिडियामा आएको ऋणबारे आफूलाई जानकारी नभएको र त्यसप्रति आफू उत्तरदायी नहुने दाबी गर्दै आएका छन् । यो समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ।