पद्मकन्या कलेजको छात्रावासको भोजनमा खाद्य स्वच्छता कमजोर



काठमाडौँ। पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ।

काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए। यो कलेज महानगरपालिकाको वडा नम्बर २८ बागबजारमा पर्छ।

अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजुली भन्छन्, ‘बागेश्वरी चमेनागृहका नामबाट सञ्चालित यस ठाउँमा सरसफाइको अवस्था सामान्य देखियो । जालीदार टोपी ९हेयर नेट०, पञ्जा, एप्रोनको उचित प्रयोग पाइएन । तयारी खाद्य पदार्थ नछोपी राख्ने गरेको, फ्राइ गर्ने कराइ अत्यन्त पुरानो रहेको, आगोजन्य जोखिम न्यूनीकरणका उपकरणहरूको व्यवस्था नभएको देखियो । यो चमेना गृहले व्यवसाय दर्ता गरेको पाइएन ।’ अनुगमनका क्रममा चमेना गृहबाट म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन नष्ट गरिएको थियो ।

कलेजकै आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहमा पनि सरसफाइ कमजोर थियो । स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको थियो । भान्सामा रहेको धुवाँ निकास गर्ने पङ्खा बिग्रिएको र खाना बनाउने ठाउँमा कालो जमेको फोहर थियो । भान्छामा कीरा नियन्त्रण गर्ने कुनै विधि अपनाइएको देखिएन । यो भोजनगृह पीके चमेना गृह एण्ड रेस्टुरेन्टले सञ्चालन गरेको छ ।

कलेजमा राखिएको पानी शुद्धीकरण प्रविधि ९वाटर ट्रिटमेन्ट प्लान्ट०मा पानी थिएन । प्लान्ट वरिपरि धुलैधुलो र फोहोर थियो । कलेजका छात्राहरूले पिउने पानीको एमोनिया परीक्षण गर्दा एमोनिया फ्री (रहित) देखिएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत बुद्धबहादुर कुँवरले जानकारी दिए । कमजोरी देखियो । यसलाई सुधार गर्छौँ । अनुगमनपछि कलेजका सहायक प्राचार्य विमला नेपालले बताइन् ।