काठमाडौँ। खाडी मुलुक कुवेतमा तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ।
विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जनाको मृत्यु भएको नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले शुक्रबार रातोपाटीलाई जानकारी दिए।
उनकाअनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ। यसबारेमा कुवेत सरकारले दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको बताउँदै उनले विस्तृत विवरण लिने क्रममा रहेको बताए।
उनका अनुसार कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ। तर, लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो सङ्ख्यामा नेपाली प्रभावित भएका हुन्।
‘हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ। हामी थप विवरण लिने क्रममा अहिले छौँ’, उनले भने। सबै प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्ने उनले बताए।
कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ।




