माओवादी मधेशमा दगुर्दैछ, आँखा काठमाडौँमा छ: महासचिव भूसाल



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले  काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको भन्दै प्रमुख तीन दलको कडा आलोचना गरेका छन्।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा आज मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले सहयात्री नेकपा माओवादी केन्द्र र सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसको कडा आलोचना गरेका हुन्। शुरुमै उनले नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरे।

ओलीले शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको भुसालले आरोप लगाए। ‘यत्रो आन्दोलन चलिरहेको छ। हाम्रो निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली,’ भूसालले भने।

अर्थतन्त्रमा संकट, व्यापारी व्यवसायीमा निराशा र जनअपेक्षा पूरा हुन नसकिरहेकाले सरकारप्रति प्रश्न गर्नेहरूलाई जवाफ दिन ११ गते एमालेले शक्ति प्रदर्शन गर्न लागेको भनेर पनि उनले आलोचना गरे।  देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे। यसबाट दलहरुले नै पार लगाउनुपर्नेमा एमालेको भूमिका ठीक नभएको उनले टिप्पणी गरे।

‘मान्छे अलिकति आक्रोशमा आयो भने जोसुकैलाई भत्काइदिन्छु बाख्राको खोर पनि भन्ने स्थिति छ, ग्राउन्ड त्यस्तो छ। यो आक्रोशलाई भजाउनका लागि पुनरुत्थानवादीहरू, अराजकहरू उठाउन लाग्या छन्,’ उनले भने, ‘लोकतन्त्रमा यो ठाउँबाट पार लगाउने भनेको पार्टीले हो। तर पार्टी कस्तो छ भने एमाले जस्तो। यो अवस्था हुनु देशको दुर्भाग्य हो।’

भुसालले कांग्रेसलाई ‘न लायक, न नालायक’ पार्टी भनेर विश्लेषण गरे। ‘कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो। अरू नालायक भए त्यो लायक भएजस्तो देखिन्छ। अरू लायक भए नालायकजस्तो देखिन्छ,’ भूसालले भने। माओवादीले पनि गर्ने र भन्ने कुरा फरक भएको बताउँदै भुसालले आलोचना गरे। नाम माओवादी भए पनि उसको सिद्धान्त र व्यवहार नमिल्ने बताए।

‘अर्को हाम्रो सहयात्री छ माओवादी। माओवादीको त सन्दर्भै मिल्दैन। माओवादबाट हेर्दा यसको वर्ग के देखिन्छ, भूराजनीति के देखिन्छ, केही पनि देखिन्न। लुकिङ लन्डन, टकिङ टोकियो देखिन्छ।’ माओवादीले यो गणतन्त्र हामीले ल्याएको हो र हामीले नै उपभोग गर्नुपर्छ भन्ने गरेको बताउँदै भूसालले भने, माओवादीको आँखा सत्तातिर रहेको बताए। उनले भने, ‘मधेशमा दगुर्दैछ, आँखा काठमाडौंमा छ। झ्यालमा कहाँ बत्ती बोलेको छ त्यता हेर्छ । त्यस्तो कुरा छ हाम्रो प्रियतम् पार्टीको।’ माओवादीले क्रान्ति गर्छु भन्नु बेकारको कुरा भएको उनले टिप्पणी गरे।