निर्वाचन प्रणाली सुधार नगरेसम्म भ्रष्टाचार अन्त्य हुँदैन: उपाध्यक्ष राई



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएकी छिन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्ने बताइन्। निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरुलाई अघि बढाउन नसकिने बताइन्।

‘निर्वाचन प्रणालीलाई सुधार गर्न सकेनौँ भने भ्रष्टाचारलाई कहिले पनि अन्त्य गर्न सकिँदैन। त्यसकारण निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्छ,’ उनले भनिन्, ‘निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरू सबै पछि पर्दछन्। यो निर्वाचन प्रणाली हामीले सच्याउनैपर्छ।’

विगतको निर्वाचन प्रणाली भन्दा प्रगतिशिल निर्वाचन प्रणाली आएपछि पर्याप्त नरहेको उनको भनाइ थियो। ‘हिजोको भन्दा प्रगतिशिल आएको छ तर पूर्ण रुपमा आएको छैन। अहिले यो विधेयक ल्याउन तयार भएको छैन सरकार। किन ल्याउँदैन। यो विधेयक छिटो भन्दा छिटो ल्याउनुपर्छ,’ उनले भनिन्।