कर्णालीको बजेट ३१ अर्ब ४१ करोड (पूर्णपाठ)



 सुर्खेत। कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ कुल बजेट ल्याएको हो ।

प्रदेश सभामा शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.७ प्रतिशत हो ।

यस्तै चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रहेको छ । यो कुल बजेटको अर्थात २४.१२ प्रतिशत प्रतिशत हो । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत अर्थात २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ । चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आफ्नो आम्दानी ८३ करोड ४४ लाख ६५ हजार रुपैयाँ हुने अनुमान गरेको छ

बाँकी रकम संघीय सरकारको अनुदानमा र चालु वर्षमा खर्च नभएको बजेटमा भर परेको छ । चालु आर्थिक वर्षमा खर्च नभएको ५ अर्ब १३ करोड ८१ लाख २६ हजार रुपैयाँ रहने मन्त्री केसीले बताए ।

प्रदेशको कुल बजेटमध्ये संघीय सरकारबाट राजस्व बाँडफाँटबापतको रकम ९ अर्ब ३८ करोड ५३ लाख प्राप्त भएको छ । वित्तीय समानीकरण अनुदानतर्फ १० अर्ब ३६ करोड ६३ लाख प्राप्त भएको छ भने सशर्त अनुदानतर्फ ३ अर्ब ७१ करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ ।

यस्तै संघीय सरकारबाट समपूरक अनुदानतर्फ १ अर्ब २८ करोड ५० लाख र विशेष अनुदानतर्फ ६७ करोड ६५ लाख रुपैयाँ प्राप्त भएको अर्थमन्त्री केसीले जानकारी दिए ।

अर्थमन्त्री केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को नारालाई सार्थक तुल्याउने उद्देश्यसहित बजेट ल्याइएको बताए । साथै बजेट ७ उद्देश्य, ७ प्राथमिकता र ७ रणनीतिक क्षेत्र निर्धारण गरी ल्याइएको उनको भनाइ छ ।

प्रदेश सरकारले बजेटमा भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको छ । केही पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रमहरू पनि थपिएको छ । अर्थमन्त्री केसीले प्रदेशको गरिबी निवारण न्यूनीकरणलाई ध्यानमा राखेर बजेट ल्याइएको बताए ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैँक स्थापना गर्ने, सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरी महिलाहरूलाई पोषण भत्ता उपलब्ध गराउने जस्ता कार्यक्रम घोषणा गरिएको छ ।

‘कर्णाली स्वास्थ्य नागरिक अभियान’ का लागि ८ करोड रकम विनियोजन गरिएको अर्थमन्त्री केसीले बताए ।

मुख्यमन्त्री यामलाल कँडेलको गृह जिल्ला सुर्खेतका धेरै योजना बजेटमा परेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरलाई हरियाली गर्ने कार्यक्रम बजेटमा राखिएको छ ।

विगत देखिनै सञ्चालनमा आएको मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ ।

पर्यटकीय गुरुयोजना बनाउने र निजी क्षेत्रको सहकार्यमा वीरेन्द्रनगरका उत्तरी क्षेत्रमा हिल स्टेसनका रूपमा विकास गरी हाइकिङ क्षेत्रको रूपमा विकास गरिने नयाँ योजना ल्याइएको छ ।

त्यस्तै रारा, काँक्रेविहार, बुलबुले उद्यान लगायतका पर्यटकीय स्थलको गुरुयोजना कार्यान्वयन गर्न १४ करोड विनियोजन गरिएको छ ।

कर्णालीलाई जडीबुटीको हबको रूपमा विकास गर्ने योजना पनि घोषणा गरिएको छ । यो योजना केन्द्र सरकारले पनि ल्याएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको छ ।

अन्तर प्रदेश सडक निर्माण गर्न ३९ करोड बजेट विनियोजन गरिएको छ । १० औँ राष्ट्रिय खेलकुद क्षेत्रलाई मध्यनजर गरी त्यस आसपासका सडकको स्तरोन्नति गरिने पनि अर्थमन्त्री केसीले बताए । सडक र पुल निर्माण गर्न ६८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
रिम्बो बस्ती विकासका लागि ८६ करोड बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा ३७० वटा विद्यालयको भौतिक सुधारका लागि १० करोड रकम विनियोजन गरिएको छ । यस्तै भूकम्पबाट भत्किएका शिक्षण संस्था निर्माण गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड विनियोजन गरिएको छ । जलविद्युत क्षेत्रमा ‘कर्णालीको पानी, जनताको लगानी’ नामक नारा ल्याइएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ ।

साभार: अनलाइनखबर

हेर्नुहोस् पूर्णपाठ