तीन दिनमा १५ लाखको बिक्री



काठमाडौँ। आँप रुचाउने शंखमूलका प्रतीक आचार्यले स्वाद पछ्याउँदै काठमाडौँमा आयोजना गरिएको महोत्सवमा पुगे । आँप महोत्सवमा उनले जर्दा, बम्बई, गुलाब खास, कलकत्तिया, दसहरी गरी पाँच थरी आँपको स्वाद चाखे ।

तीनदिन चलेको महोत्सवमा उनले आँपको अनेक प्रजाति चिन्ने मौकामात्रै पाएनन्, आँपबाट बन्ने रेसेपी, अचार लगायतका बहुउपयोगिता र महत्वबारे पनि बुझ्न पाए । ‘हेर्दा एउटै लाग्ने आँप स्वाद र यसको प्रयोग बहुआयामिक रहेछ,’ उनले भने ।

प्रतीकले जस्तै धेरैलाई विभिन्न प्रजातिका आँप चाख्ने र उपयोगबारे बुझ्ने अवसर जुराइदियो, किसान भेन्चर र काठमाडौं अर्गानिक्सले आयोजना गरेको ‘प्रथम नेपाल आँप फेस्ट २०८१’ले ।

शुक्रबारदेखि सुरु भएको आँप महोत्सव विभिन्न कार्यक्रमकाबीच आइतबार समापन भयो ।

नेपाली आँपको प्रयोग बढाउन, किसानलाई प्रोत्साहित गर्न र उपभोक्तालाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्‍याउने उद्देश्यले काठमाडौँ आँप महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा सर्लाही, सप्तरी, सिराहा, महोत्तरीलगायत जिल्लाका ५० किसानका बगानबाट ल्याइएका आँप राखिएको थियो ।

महोत्सवमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बम्मई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ प्रकारका आँप प्रदर्शनमा रखिएका थिए ।

आयोजकका अनुसार १० हजारले महोत्सव अवलोकन गरेका छन् । त्यस्तै तीनदिनको अवधिमा १५ लाख बराबरको आँप बिक्री भएको छ ।

काठमाडौं अर्गानिक्सका सञ्चालक भुवन केसीले नेपाली बजार प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सवले आँपलाई चिनाउन मद्दत पुर्‍याएको बताए।

‘नेपालमा मात्रै १५४ प्रजातिका आँप पाइने भए पनि धेरैलाई थाहा छैन,’ उनले भने।

आँप फलको रूपमा मात्रै नभएर अचार, पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम, जुस, रेसिपीलगायतका रूपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने महोत्सवले देखाएको छ ।

केसीले भने, ‘जेठदेखि साउन मसान्तसम्म पाक्ने भएकाले फलका रूपमा आपको सिजन छोटो हुन्छ । तर यसलाई अन्य परिकार बनाएर प्रयोग गर्ने हो भने यसको बजार वर्षभर रहन्छ ।’