विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै



काठमाडौं। नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ।

यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो। विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो।

अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप तयारी सकिनेछ। विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ। नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुआत गर्नेछ। नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन्।