कान्तिपुरबाट बाहिरिए कोषाध्यक्ष सेजुवाल, श्रमजीवी पत्रकारको पक्षमा उभिने



काठमाडौँ। कान्तिपुर दैनिकमा कार्यरत पत्रकार कलेन्द्र सेजुवालले श्रमजीवी पत्रकारको पक्षमा उभिने निर्णय गरेका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्षसमेत रहेका सेजुवाल करिब ६ वर्षदेखि कान्तिपुरको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए। स्रोतकाअनुसार कान्तिपुर दैनिकको व्यवस्थापन पक्षले सेजुवाललाई राजिनामा नदिन भनेको थियो। तर, सेजुवालले नैतिक रूपमा कान्तिपुर दैनिकमा रहेर काम गर्न नसक्ने भन्दै राजिनामा दिएका हुन्।

शुक्रबार सेजुवालले सामाजिक सञ्जालमार्फत कान्तिपुर दैनिकको यात्रा टुङ्गिएको जानकारी दिएका थिए। पत्रकार सेजुवालले ठूलो उकुस-मुकुसबाट उन्मुक्ति मिलेको बताएका छन्। साथै उनले सञ्चारगृहमा सम्पादकीय जीवन्त रहोस् र श्रमजीवी पत्रकारहरूले श्रमको मूल्य पाउन् भन्ने कामनासमेत गरेका छन्।

उनले लेखेका छन्, ‘उकुस-मुकुसबाट उन्मुक्ति। कान्तिपुरसँगको (५ वर्ष ८ महिना) लामो यात्रा बिट मारेको छु। सञ्चारगृहमा सम्पादकीय स्वतन्त्रता जीवन्त रहोस्। पत्रकारले श्रमको मूल्य पाउन्।’

कान्तिपुर मिडिया ग्रुपले गैरकानूनी तवरले पत्रकार तथा कर्मचारीहरूलाई निष्काशन गरेपछि पत्रकार महासंघ, विभिन्न पत्रकारका संगठनहरू उक्त सञ्चारगृहका विरुद्ध आन्दोलन चलाइरहेका छन्।

यस अवस्थामा महासंघको महत्वपूर्ण जिम्मेवारीमा रहेका सेजुवालले नैतिक रुपमा आफ्नो जागिर त्यागेर श्रमिकहरूको पक्षमा उभिएका छन्। पत्रकारहरूले प्रधान सम्पादकको खोजि आन्दोलन चलाइरहेका बेला सेजुवालको राजीनामाले नयाँ तरंग ल्याएको छ।

सेजुवालको चौतर्फी प्रशंसा

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड र पुरस्कारबाट सम्मानित भइसकेका सिनियर पत्रकार सेजुवालको उक्त निर्णयलाई लिएर चौतर्फी प्रशंसा भएको छ।

कान्तिपुर जस्तो स्थापित दैनिक पत्रिकाको जागिर छोडेर श्रमजीवी पत्रकारहरुको हक, अधिकार र न्यायको पक्षमा उभिएका सेजुवालले ठूलो त्याग गरेको टिप्पणी भइरेहका छन्।

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय साथी कलेन्द्र। श्रम र श्रमिकको पक्षमा एउटा जबर्जस्त विद्रोह। मान्छे साइनबोर्ड झुण्ड्याएर, विचारको लेपन दलेर हैन, व्यवहारत प्रमाणित हुनुपर्छ। साइनबोर्ड जसले झुण्ड्याए पनि तपाईं एउटा सच्चा समाजवादी साथी हो। सलाम छ। कान्तिपुरका श्रमजीवी पत्रकारको पक्षमा त्यहाँको जागिर छोडेर संघर्षको मैदान रोज्नु भयो। म गर्व गर्छु, हामीले निर्माण गरेको नेपाल पत्रकार महासंघको नेतृत्वमा कलेन्द्र सेजुवालजस्तो श्रमिकवर्गीय कोषाध्यक्ष छ भन्नुमा।
फेरि पनि सलाम छ साथी।’