चीनकै लामो पानीमुनीको सुरुङ राजमार्ग खुला



काठमाडौँ। निर्माणको झन्डै ४ वर्षपछि चीनकै लामो पानी मुनीको सुरुङ राजमार्ग सवारी साधनका लागि खुला भएको छ।

१०‍‍.७९ किलोमीटर लामो ताइहु सुरुङ पूर्वी चीनको जियाङसु प्रान्तको लेक ताइहुमा फैलिएको छ। यो क्षेत्र सांघाईबाट ५० किलोमीटर पूर्वमा रहेको छ। जियाङसुका सरकारी अधिकारीहरुका अनुसार सुरुङ ९।९ अर्ब युआन अर्थात् १।५६ अर्ब डलरमा निर्माण भएको हो। निर्माण कार्य २०१८ को जनवरी ९ मा सुरु भएको थियो।

दोहोरो बाटो भएको सुुरुङको निर्माणका लागि २० लाख घन मीटरको कंक्रिट बिच्छाइएको थियो। यसमा ६ लेन छ भने १७।४५ मीटर चौडा रहेको चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले जनाएको छ। सुरुङको सिलिङमा रङ्गीचङ्गी एलईडी बत्ती राखिएका छन्। चालक नथाकुन् भन्ने उद्देश्यले यस किसिमको ढाँचा तयार पारिएको हो।

यो सुरुङ ४३।९ किलोमीटर चाङझोउ–वुसी हाइवेको एक अंश हो। यो २०२१ को ३० डिसेम्बरम सर्वसाधारणका लागि खुलेको थियो। यसले सांघाई र नानजिङबीचको यात्रालाई वैकल्पिक मार्ग दिने छ। सुझोउ, उसी र चाङझोउ जोड्ने यो सुपरमार्गलाई लेक ताइहुसँगैका सहरहरुमा सवारी चाप नियन्त्रण गर्नका लागि बनाइएको हो। यसले याङजे रिभर डेल्टा क्षेत्रका सहरहरुको आर्थिक विकास प्रवद्र्धनका लागि सहयोग पनि गर्नेछ।

विश्वकै लामो पानी मुनीको राजमार्ग सुरुङ नर्वेको १४।३ किलोमीटरको जुम्ल्याहा सडक रिफास्ट टनेल हो। टोकियो बे अक्वा–लाइन पानी मुनीको सुरुङ प्रबद्र्धनका लागि टोकियो बे पनि चर्चामा रहदै आएको छ। यो ९।६ किलोमीटर लम्बाइको रहेको छ। सामान्य रुपमा पानी मुनीको सुरुङको जस च्यानल टनेललाई जान्छ। यसले बेलायत र फ्रान्सलाई रेलको माध्यमबाट जोड्ने काम गर्छ।