कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत



काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।

बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन्। कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए। जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्। कांग्रेसका एक सांसद निलम्बनमा परेका छन्।

यसैगरी राप्रपा, एकीकृत समाजवादीका एकरएक र स्वतन्त्र एक सांसद छन्। आजको बैठकमा कांग्रेसका तीन सांसद् उपस्थित भएनन्। राप्रपा तटस्थ बसेको छ। प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ।

नेकपा एमालेका नेता कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। कँडेल कर्णालीको चौथो मुख्यमन्त्री हुन्। मख्यमन्त्री कँडेलले बुधबार मात्रै नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएको १७ दिन पुग्दा पनि कँडेलले अझै मन्त्रिपरिषदलाई भने पूर्णता दिन सकेका छैनन्। विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको कँडेल निकट सांसदहरू बताउँछन्।