भारतमा ओमिक्रोन: सबै शैक्षिक संस्था बन्द गरिने



काठमाडौं। कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ।

मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी गराएका छन्। योसँगै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको छ।

‘यलो अलर्ट’ लागू भएपछि दिल्लीका सबै शैक्षिक संस्था बन्द गरिने भारतीय समाचारमाध्यमले जनाएका छन्। त्यस्तै, विवाह समारोह र दाहसंस्कारमा २० जनाभन्दा बढी भेला हुन पाउने छैनन् भने ५० प्रतिशत क्षमतामा मात्रै दिल्लीका मेट्रो र बस सेवा सञ्चालन गर्नुपर्ने छ।

यसबाहेक, सिनेमा हल, पार्टी प्यालेस र मनोरञ्जन केन्द्रसमेत बन्द गरिनेछ। ५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ। अटो, ई-रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन्।

हालसम्म भारतका २१ राज्यमा ओमिक्रोन भेरियन्ट फैलिएको छ। ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन्। महाराष्ट्रमा मंगलबारसम्म १६७ जना र दिल्लीमा १६५ जनामा यो भेरियन्ट पुष्टि भएको छ।