निमित्त उपकुलपतिको पहिलो काम: मिडियाप्रति आक्रोश, प्रकाशित समाचारप्रति ध्यानाकर्षण



जुम्ला। कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाले संचारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार प्रतिष्ठानमा निमित्त उपकुलपति र निमित्त रजिष्ट्रारको उपस्थितिमा पत्रकार सम्मेलन गरी उक्त ध्यानाकर्षण रहेको विज्ञप्ति जारी गरिएको हो। विज्ञप्तिमा “विभिन्न संचारमाध्यममा आएका समाचार प्रति ध्यानाकर्षण भएको र कुनै पनि शैक्षिक प्रशासनिक काम नरोकिएको र नरोकिने” उल्लेख छ।

प्रतिष्ठान एकै पटक उपकुलपति र रजिष्ट्रारबिहिन भएपछि प्रतिष्ठानका केहि कर्मचारिले बिहिबार विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएका थिए।

प्रतिष्ठानमा राजनितिक दाउपेचमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार निर्पेन्द्र महतलाई स्वास्थ्य मन्त्री बिरोध खतिवडाले नियुक्तिका बिषयमा उठेको समस्यालाई लिएर बुधबार देखि दैनिक काम काजमा रोक लगाएका थिए। उनीहरूलाई रोक लगाएपछि प्रशासनिक कामकाज र यसै शैक्षिक सत्रबाट सञ्चालन हुने एमबिबिएस लगायत विभिन्न शैक्षिक कार्यक्रममा बाधा पर्न सक्ने भन्दै प्रतिष्ठानका एक सय ८० जना कर्मचारीले हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएका थिए।

ध्यानाकर्षण पत्र पठाएको केहि घण्टामै मन्त्रालयले प्रतिष्ठानमा निमित्त उपकुलपतिमा निरेश थापा र निमित्त रजिष्ट्रारमा द्वन्द्व शाहिलाई नियुक्त गरेको छ। सरकारले आफ्नो माग चाडै पुरा गरेको प्रतिष्ठानका कर्मचारी इन्द्र डाँगीले बताए।