नरहरिनाथ गाउँपालिकामा मनाइयो संविधान दिवस



कालिकोट। संविधानसभाबाट संविधान जारी भएको ६ वर्ष पूरा भएर सात वर्ष लागेको छ।

संविधान दिवसका अवसरमा आइतबार जिल्लाको नरहरिनाथ गाउँपालिकाले पनि विविध कार्यक्रम गरि संविधान दिवस मनाएको छ। गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अध्यक्ष बिष्टले भने, ‘०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन। सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजाति लगाएत रुष्ट छन्। संविधान समयानुकुल र देशको आवश्यकताअनुसार परिमार्जित हुने विषय भएका कारण विद्यमान संविधानलाई आवश्यकता र औचित्यको आधारमा परिमार्जित हुन सक्छ।’

उनले वर्तमान संविधान सम्पूर्ण नेपाली जनाताहरुको हितमा भएको दाबी गरे। उनले भने, ‘विद्यमान संविधान प्राप्तिका लागि विभिन्न आन्दोलमा आफ्नो ज्यानको बलिदान गर्नुहुने सम्पूर्ण शहिदहरुप्रति हार्दिकताका साथ श्रद्धासुमन व्यक्त गर्दछु। विश्वका कुनै पनि देशमा नभएको महिला अधिकार, समावेशीता, आरक्षण, मानवअधिकार, मौलिक हक हाम्रो संविधान छ। त्यसैले वर्तमान संविधानको कार्यान्वयनमा जोडबलले लाग्नुपर्छ। प्रतिगामीहरुबाट संविधान बचेको छ।’

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले केही मधेसवादी दलबाहेक अन्यले वर्तमान संविधान स्वीकार गरेको बताईंन्। मधेशवादी दलहरु पनि संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका र हुने क्रममा रहेको बताइन।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गलाल न्यौपानेलगाएत १ देखि ९ वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, स्थानीय राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न संघ संस्थाका कर्मचारीहरु, पत्रकारलगाएतको उपस्थित रहेको थियो।