राष्ट्रसंघ: परिवारबाट छुटेका सयौं बालबालिकाको अफगानिस्तानबाट उद्धार



काठमाडौँ। तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताबीच छुटेका सयौँ बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ।

उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ ।

संयुक्त राष्ट्र बाल कोष ९युनिसेफ० ले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिकाहरू दर्ता भएका थिए ।

यूनिसेफले बताएअनुसार अगस्टको अन्त्यमा अमेरिकी सेना पूर्णतया हट्नुभन्दा पहिले देश छोड्ने हतारमा हजारौं मानिसहरू काबुल विमानस्थलमा ओइरिँदै गर्दा धेरै केटाकेटीहरू आफ्नो परिवारबाट अलग्गिएका थिए ।

अन्तिम दिनहरूमा संयुक्त राज्य अमेरिकाले काबुलको विमानस्थलबाट एक लाख २३ हजार भन्दा बढी मानिसहरूलाई अफगानिस्तानबाट बाहिरिन सघाएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी नागरिक तथा अनुवादमा अमेरिकी मिशनलाई सहयोग गर्नेलगायतका र बसाइँ सर्न विशेष भिसाका लागि योग्य भएका अन्य व्यक्तिहरू सहित उनीहरूलाई विभिन्न मुलुक हुँदै अमेरिका, यूरोप लगायतका केही एशियाली मुलुकमा शरण दिइएको छ ।

जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुट्टिएका केही बालबालिकाहरूलाई उद्धार गरिएको युनिसेफले बताएको हो ।

युनिसेफले हाल उद्धार गरिएका बालबालिकाहरूको रेखदेख गरिरहेका सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको र अझै पनि देशमा छुटेकाहरूलाई दर्ता गर्न, उनीहरूको परिवारको पत्ता लगाउन र पुनर्मिलन गर्न प्रयास गर्न मद्दत गरिरहेको बताइएको छ ।

 

एजेन्सी