न्युजिल्याण्डमा ६ जनालाई चक्कु प्रहार गर्ने मारिए



काठमाडौँ। न्युजिल्याण्डको अकल्याण्डस्थित एक सुपरमार्केटमा ६ जनालाई चक्कु आक्रमण गर्ने एक व्यक्ति न्युजिल्याण्ड प्रहरीबाट मारिएका छन्।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले यो आक्रमणलाई ‘आतंकवादी आक्रमण’ भएको बताएकी छिन्। आक्रमणकारी श्रीलंकाली नागरिक रहेको उनको भनाइ छ। यसअघि नै आक्रमणकारीलाई निगरानीमा राखिएको अर्डनको भनाइ छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आक्रमणकारी आतंकवादी संगठन औआईएसओबाट प्रेरित व्यक्ति थिए। प्रधानमन्त्री अर्डनका अनुसार न्युजिल्याण्डका सुरक्षाकर्मीले ती व्यक्तिलाई ६० सेकेण्डभित्रै मारेका थिए।

शुक्रबार न्युजिल्याण्डमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अर्डनले यो घटना निन्दनीय रहेको बताएकी छिन्। उनले आक्रमणकारीको पहिचान भने गोपनीयताको कारण बताउन नमिल्ने बताएकी छिन्। अर्डनका अनुसार आक्रमणकारी सन् २०११ मा न्युजिल्याण्ड आएका थिए र २०१६ सम्म आउँदा उनी न्युजिल्याण्डको सुरक्षाको लागि जोखिम बन्न थालेका थिए।

प्रहरीले उनीमाथि निरन्तर निगरानी गरेपनि सधैं ती व्यक्तिको पिछा गर्न नसकिने भएकाले सकेसम्म छिटो उनीमाथि कारबाही गरिएको बताएको छ । प्रहरीका अनुसार यो आक्रमणमा घाइते ६ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ। उपचार गराइरहेकामध्ये एकजनाको अवस्था गम्भीर छ ।

एजेन्सी