देउवा र निधि: २५ वर्षको सहकार्यपछि आमने-सामने



काठमाडौँ। ‘मैले बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय खोलेको छु, उद्घाटनका लागि आइदिन पर्‍यो,’ केही दिनअघि उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै यसो भन्दा उनको जवाफ थियो, ‘मेरो पनि समर्थन छ भनेर देखाउन बोलाएको होला, म आउँदिनँ।’

देउवा नगए पनि निधि पछि हटेनन्। उनले विभिन्न शक्तिपीठका पुजारीबाट साइत गराएर शुक्रबार कार्यकर्ताबीच आफ्नो सम्पर्क कार्यालय खोले । त्यही समारोहमा उनले सभापतिमा उम्मेदवारीको घोषणा पनि गरे। भित्रभित्रै सभापतिका लागि तयारी गर्ने नेता अरू थुप्रै छन् तर खचाखच कार्यकर्ताको भीडमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो नेता भएका छन्।

देउवानिकट कतिपय नेताले निधिको उम्मेदवारीको विषयलाई ‘घुर्की’ र ‘बार्गेनिङ’ को रूपमा अर्थ्याउँदै आएका थिए । महाधिवेशनको मुखतिर दुई नेता मिल्ने विश्वास पनि थियो । ‘लामो संगत र सहकार्यको धागो यति चाँडै तोडिएलाजस्तो लागेको थिएन, केही न केही समझदारी बन्ला भन्ने हामीले सोचेका थियौं,’ देउवानिकट एक नेताले भने, ‘आजदेखि भने देउवा र निधिको बाटो अलग्गिएको महसुस भएको छ।’

नेविसंघमा देउवाको उत्तराधिकारी निधि थिए। २०३६ मा बीपी कोइरालाको प्रस्तावमा निधि नेविसंघका अध्यक्ष भए। त्यसअघिको कार्यकालमा देउवा अध्यक्ष थिए । ४२ वर्षपछि निधिले पार्टीमा पनि त्यस्तै उत्तराधिकारीको चाहना राख्दै आएका थिए। १३औं महाधिवेशनकै बेला यसपटक तपाईंलाई जिताउने हो, अर्कोपटक मलाई सघाउनुपर्छ है भन्दा देउवाले ‘हुन्छ’ भनेको निधि यतिबेला स्मरण गर्छन्।

‘म तपाईंको उत्तराधिकारी बन्न चाहन्छु, तपाईंको समर्थनमा सभापतिको उम्मेदवार बन्न चाहन्छु भनेर धेरैपटक भनें,’ केही दिनअघि कान्तिपुरसँगको कुराकानीमा निधिले भनेका थिए, ‘तर उहाँले तपाईंलार्ई पनि लड्ने अधिकार छ, लड्नुहोस्, म पनि लड्छु भन्नुभयो।’ यो समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ।