अक्षय कुमारको फिल्म बेलबटम खाडीका तीन मुलुकमा प्रतिबन्ध



काठमाडौं। कोरोना लकडाउन र प्रतिबन्धका बीच थुप्रै महिनापछि सिनेमाघर मालिकले त्यतिबेला राहत पाए जब अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ १९ अगस्टमा ठूलो पर्दामा रिलिज भयो।

तर संसारभरी रिलिज भएको बेलबटममाथि खाडीका तीन देशले प्रतिबन्ध लगाएको छ। साउदी अरब, कुवेत र कतारमा यो फिल्मको प्रदर्शनमा अनुमती पाएको छैन। फिल्म बेल बटमका निर्माता हुन् मधु भोजवानी, ज्याकी भगनानी, वाशु भगनानी र निखिल अडवाणी।

बेलबटममाथि तीन खाडी देशमा लागेको प्रतिबन्धमाथि फिल्मका निर्माता मधु भोवानीले भने, ‘फिल्म प्रदर्शन नगर्ने निर्णय हरेक देशको निजी मामिला हो। हामीले एउटा फिल्म बनायौं जुन सत्य घटनामा आधारित छ।

त्यो हिसाबले हामीले मानिसहरु वा पात्रलाई दर्साएका छौं। धेरै कुरा काल्पनिक पनि छन्। कुनै देशले यस्तो निर्णय लिएको छ भने त्यो उनीहरुको नीजि मामिला हो। यसबारे हामी केही भन्न सक्दैनौं।’

चर्चित ट्रेड एनालिस्ट कोमल नाहटाले भने, ‘फिल्मलाई यी तीन देशमा कन्टेन्टमाथि आपत्तिटका कारण रिलिजको अनुमति दिइएको छैन।’ कन्टेन्टको विषयमा के आपत्ति हुनसक्ला, यसबारे मधु भोजवानीले भने, ‘हामीले यसमाथि कुनै प्रतिक्रिया दिन सक्दैनौं।’

प्रतिबन्धका कारणः

वास्तवमा यो फिल्म विमान अपहरणको कहानीमा आधारित छ। यसको कहानी सन् १९८४ मा भएको एक विमान अपहरणमा आधारित भएको बताइन्छ। त्यतिबेला यात्री विमानलाई अपहरण गरेर लाहौरबाट दुबई ल्याइएको थियो।

सन् १९८४ मा भएको वास्तविक घटनाका अनुसार संयुक्त अरब इमिरेट्सका तत्कालीन रक्षामन्त्री शेख मोहम्मद बिन राशिद अल मकतूमले व्यक्तिगत रुपमा स्थिति सम्हालेका थिए र संयुक्त अरब इमिरेट्सका अधिकारीले अपहरणकर्तालाई पक्राउ गरेका थिए।

तर यो फिल्ममा सिक्रेट मिशनलाई भारतीय अधिकारीले नै पूरा गरेको देखाइएको छ। त्यसैले फिल्ममा तथ्यमाथि छेडछाड गरिएको मानिएको छ। यद्यपि, यो फिल्ममाथि लागेको प्रतिबन्धका कारण आधिकारिक रुपमा कुनै जानकारी सार्वजनिक भएको छैन।

फिल्मले पाएन राम्रो ओपनिङः

भारतमा सिनेमाघर अहिले ५० प्रतिशत क्षमताका साथ खुलेका छन् । यसको असर फिल्मको कमाइमा देखिएको छ। फिल्मको कमाईको ३० प्रतिशत हिस्सा महाराष्ट्रबाट आउँछ तर महाराष्ट्रमा सिनेमाहल बन्द भएका कारण फिल्मको कलेक्सनमा असर देखिएको छ।

बक्सअफिस इन्डिया डट कमका अनुसार १९ अगस्टमा रिलिज भएको ‘बेल बटम’ ले पहिलो दुई दिनमा करिब पाँच करोडको कलेक्सन गरेको छ। अभिनेता अक्षय कुमारका पछिल्ला वर्षमा प्रदर्शित फिल्मको तुलनामा यो निकै मामूली कमाई मानिएको छ।

‘आशाको किरण बेलबटम’

तर फिल्मको कम कमाईका कारण निर्माता मधु भोजवानी चिन्तित छैनन्। उनले भने, ‘हामी खुसी छौं कि ५० प्रतिशत क्षमतासहित हामीले मौका पाएका थियौं र फिल्म आफ्नो उद्देश्यमा सफल रह्यो। हामी सिनेमाघरसम्म मानिसहरुलाई ल्याउन सफल रह्यौं।’

मधु भोजवानी भन्छन्, ‘यो फिल्मार्फत् थिएटर मालिक, दर्शक, सहयोगी र फिल्म इन्डष्ट्रिसँग जोडिएका मानिसहरुले एउटा आशाको किरण देखेका छन्। थिएटर खोल्न अत्यावश्यक छ भनेर सबैले प्रोत्साहन पाएका छन्।’

फिल्म बेल बटममा अक्षय कुमारबाहेक लारा दत्ता, वाणी कपूर र हुमा कुरैशीले महत्वपूर्ण भूमिका निभाएका छन् जबकी फिल्मको निर्देशन रंजीत तिवारीले गरेका छन्।