जिम्मेवारीबाट दाँयाबाँया गर्ने छुट कसैलाई छैन: मन्त्री भुसाल



काठमाडौँं। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणलाई जनमुखि बनाउने कुरामा कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएकी छन्।

आइतबार प्राधिकरण सञ्चालक समितिले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मन्त्री भुसालले जनताको हित, कर्मचारीहरुको सुविधा र राष्ट्रविकास नै आफ्नो मुख्य लक्ष्य रहेको बताइन्।

उनले भनिन्, ‘उर्जा क्षत्रेको विकास गर्ने काम, सुधार गर्ने काम माओवादी पार्टीका मन्त्रीहरुले गरेको स्मरण गराउन चाहान्छु। स्व.पोष्टबहादुर बोगटीको नेतृत्वमा ऋणमा डुबेको प्राधिकरणलाई माथि उठाउने काम भएकाे थियाे। माओवादीबाट उर्जा मन्त्री बन्नेमा म छैठौं हो। हाम्रा साथीहरुले एक न एक योगदान पुर्याएर जानु भएको छ।’

उनले अगाडि भनिन्, ‘म विषम परिस्थितिमा मन्त्री बन्न पुगेकी छु। मन्त्रीको सपथ खानुभन्दा १ घण्टा पहिले मात्रै म मन्त्री बन्दैछु भन्ने खबर पाएकी थिए। म सोझो मान्छे, सोझो काम गर्ने मान्छे। मेरो तर्फबाट जनताको हितभन्दा पर पुगेर, कर्मचारीहरुको हितभन्दा बाहिर गएर कुनै काम हुँदैनन्। यस प्राधिकरणलाई बलियो बनाउने काम तपाईं कर्मचारीहरुको हो। सञ्चालक समिति र महानिर्देशकको हो। कसरी हुन्छ यस संस्थालाई जनताको हितमा जोड्नुहोस्। हामी कसैलाई पनि जिम्मेवारीबाट दाँयाबाँया गर्ने छुट छैन।’

आफू समाजवादको पक्षधर भएको र समानताको लागि जीवनभर राजनीति गरेको व्यक्ति भएका कारण प्राधिकरणका कर्मचारीहरुको सेवा सुविधामा धेरै भिन्नता हुन नहुेनमा जोड दिइन। उनले भनिन्, ‘मेरो पार्टी समाजवादको अभियान छ। हामीले भन्दै आएको कुरा गरिबी हटाउने र समाजलाई समाजवाद तिर लैजाने हो। कोही अति सम्पन्न हुने, कोही दिनभरि काम गरेर भरे घर फर्किँदा अँध्यारो मुख लगाउनुपर्ने अवस्था किन ? यसको अन्त्य गर्नु पर्दैन? ज्यालामा काम गर्नेहरु काग मरेजस्तै मरिरहेका छन्। उनीहरुको जीवन होइन।’

त्यस्तै सरकारले उठ्न बाँकी डेडिकेटेड र ट्रंक लाइनको सबै महसुल नेपाल विद्युत प्राधिकरणमार्फत नै उठाउने संकेत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्रक्रिया तुरुन्तै शुरु गर्न प्राधिकरणलाई निर्देशन दिएकी छन्। उनले यो महसुल उठाउने काम प्राधिकरणको भएको भन्दै राजनीतिक निर्णयका आधारमा यसको हल गर्न नहुने संकेत गरिन्। सरकारी समाचार एजेन्सी राससका अनुसार प्राधिकरणले यस प्रकारको महसुल १५ अर्ब ४३ करोड रूपैयाँ उठाउन बाँकी छ।

‘सञ्चालक समितिको बैठकबाटै मैले यो विषय प्राधिकरणमा फर्काइदिएको छु। अब तपाईंहरू लाग्नुस्, महसुल उठाउनुस् तर जिम्मेवार भएर। उद्योगी व्यवसायी पनि राज्यका सहयोगी हुन्, उनीहरूलाई समेत विश्वासमा लिएर काम गर्नुस्।’ प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा भनिन्।

कार्यक्रममा मन्त्री भुसालले लामो समयसम्म महसुल किन उठ्न सकेन? भन्दै प्रश्न गरिन्। ‘त्यसको जिम्मेवार को हो? यो मन्त्री, प्रधानमन्त्रीको तहमा पुग्नुपर्ने विषय हो?’ उनले भनिन् । उठ्न नसकेका महसुल औद्योगिक करिडोरमा रहेका प्राधिकरणका कर्मचारीले के कस्तो काम गरे भन्ने बारेमा स्पष्ट विवरण उपलब्ध गराउन र सोहीअनुसार अगाडि बढ्न प्राधिकरणको नेतृत्वलाई उनको निर्देशन छ।

‘महसुल उठाउन हामीले कतिको सहजीकरण गर्‍यौँ ? उद्योगी व्यवसायीसँग कति पटक छलफलमा बस्यौँ । उनीहरूलाई कति पटक आग्रह गर्‍यौँ ? कुनै उपाय सुझायौँ ?,’उनले प्रश्न गरिन्,’यो विषय कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको क्षेत्रमा पर्छ कि पर्दैन? कुनै पनि कर्मचारी जिम्मेवारीबाट भाग्न मिल्दैन, दिइँदैन।’

जिम्मेवार भएर, विधि, पद्धति र कानूनअनुसार काम गर्नुपर्ने भन्दै उनले महसुल नउठाउने ततकालीन अधिकारीलाई फेरि सोही शाखामा पठाएर महसुल उठाउन लगाउनुपर्ने संकेत गरिन्। २०७२ देखि औद्योगिक करिडोरमा रहेका सबै कर्मचारीको तथ्याङ्क केलाएर महसुल किन उठेन भनेर खोजी गर्न उनको आग्रह छ। प्राधिकरणका जिम्मेवार कर्मचारीले किन महसुल उठाउन सकेनन्, के कारणले रोकियो भन्ने बारेमा आफूलाई स्पष्ट जवाफ चाहिने उनले बताइन्।