नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित



काठमाडौँ। अन्तत: नेपाली कांग्रेसस पूर्वनिधारित मितिमा वडा अधिवेशन गर्न असफल बनेको छ।

यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिएको थियो। शनिबार बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो। प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ। कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो।

क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन प्रभावित भएको हो। शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए।

समितिले १२ साउनमा सदस्यताको अन्तिम सूची सभापति देउवालाई बुझाउने भएको छ। सभापति देउवाले हस्ताक्षर गरेपछि क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछन्। त्यसपछि निर्वाचन समितिले देशभरका सबै वडामा निर्वाचन अधिकृत खटाउनेछ।

कांग्रेस महाधिवेशनमा क्रियाशील सदस्य प्रारम्भिक मतदाता हुन्। क्रियाशील सदस्यले नै वडा समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छन्। क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसको विधानको व्यवस्था छ। कांग्रेसमा १४ औं महाधिवेशनमा आठ लाख ५० हजार बढी क्रियाशील सदस्य रहेका छन्।

बैठकमा सभापति देउवाले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनको सम्बोधन गर्न निर्देशन दिएका छन्। उनले शनिबार साँझसम्म धर्नामा बसेका नेता कार्यकर्ताको विषयगत माग सम्बोधन गर्न निर्देशन दिएका हुन्। देउवाले सहमहामन्त्री डा। प्रकाशशरण महत र पूर्वसहमहामन्त्री डा‍. रामशरण महतलाई धर्नामा बसेकाहरुसँग वार्ता गर्ने जिम्मेवारी दिएका छन्।