यस्तो छ, ८ महिनामा थानकोट-चित्लाङ सडकको प्रगति



काठमाडौँ। स्थानीयको निरन्तरको निगरानी र सहजीकरणपछि थानकोट—चित्लाङ सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको छ।

मुकवानपुरको थाहा नगरपालिका ९ चित्लाङलगायत उत्तरी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने यो सडक निर्माणमा ढिला सुस्ति भएपछि स्थानीयले निर्माण कम्पनी र आयोजना कार्यालयलाई दबाब दिएका थिए।

स्थानीय समेतको सहभागितामा बनाइएको सरोकार समितिका सदस्यहरु आलोपालो गरेर सडक निर्माण स्थलमा गएर कुर्ने गरेका छन्। उनीहरुका लागि निर्माणस्थलमै टेन्ट, बिजुलीबत्ती र खानपानको व्यवस्था मिलाइएको छ।

गणेशमान सिंह राजमार्गको नामबाट पनि चिनिने थानकोट—चित्लाङ सडकमा स्तरोन्नतिको काम सुरु भएपछि ८ महिनादेखि बन्द छ। कोरोना महामारीका कारण झण्डै डेढ महिना रोकिए पनि जेठ २४ गतेदेखि नै काम सुचारु छ। सेतो पहरासम्म विद्युत लाइन पुगेकाले रातिमासमेत काम भइरहेको छ।

१० मिटरको ट्रयाक खोल्ने काम सकिएपछि नाला निर्माण र कालोपत्रेका लागि दवाव दिने सोच स्थानीयले बनाएका छन्। सडक निर्माणको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा काठमाडौंमा छलफल भएको छ। चित्लाङ घर भई काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै आएकाहरुबीच छलफल भएको हो।

सडक निर्माण कार्यमा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको सहभागीहरुले बताएका छन्। सडकको बारेमा चासो राख्नेहरुलाई वास्तविकता जानकारी गराउने उद्देश्य पनि छलफलको थियो। सुरक्षा चुनौति बढ्नुको साथै सडकको बारेमा बुझ्दै नबुझी हचुवाको भरमा टिकाटिप्पणी हुन थालेपछि छलफल राखिएको सरोकारवालाले बताएका छन्।