एमाले कार्यदल बैठक स्थगित



काठमाडौं। एमाले विवाद मिलाउन गठित कार्यदलको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिताबारे छलफल हुने बताइएको थियो।

कार्यदलका सदस्यहरुको व्यस्तताले बैठक स्थगित भएको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीका तर्फबाट कार्यदल संयोजक रहेका सुवास नेम्वाङले जानकारी दिए।

‘हामीले टेलिफोनमै समान्य कुराकानी गर्यौ। आज साथीहरुको व्यस्तताले मिलेन’ उनले भने, ‘अर्थमन्त्री बजेटमा व्यस्त हुनुहुन्छ। लुम्बिनीका मुख्यमन्त्री उतै हुनुहुन्छ। त्यसैले बैठक भोलि ५ बजे बस्छ।’

कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो। पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदल बनाएका थिए।