नेपाल सुपर लिग च्याम्पियनको उपाधी काठमाडौंलाई



काठमाडौं। काठमाडौं रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ।

शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो।

काठमाडौंको जितमा मेसौके ओलुमोउ नायक साविक भए। उनले खेलको २१औं मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए।

धनगढीका विशाल राईबाट काठमाडौंका विश्वास श्रेष्ठले बल खोस्दै सटिक पास उपलब्ध गराएका थिए। जुन पासमा मेसौकेले चुकेनन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका उनले आठ गोल गरे।

पहिलो गोल गरेपछि काठमाडौं आक्रमक बनेको थियो। तर फिनिसिङमा सफल भएन। सुदील राईले खाली पोस्टमा गोल गर्न चुक्दा स्टेफिन बिनोङको फिकिङ बाहिरियो।

उपाधि जितेसँगै काठमाडौंले लिग चरण र प्लेअफमा धनगढीसँग भोगेको पराजयको बदला समेत लिन सफल भएको छ।

जितसँगै काठमाडौंले ३५ लाख रुपैयाँ हात पारेको छ। धनगढीले १५ लाखमै चित्त बुझाउन बाध्य भयो।

जितसपछि काठमाडौंका कप्तान विकेश कुथुले पहिलो गोल गरेपछि रक्षापंक्तिमा बढी ध्यान दिएको प्रतिक्रिया दिए। उनले पहिलो संस्करणको उपाधि आफ्नो कप्तानीमा जित्न पाउँदा खुसीको सीमा नभएको बताए। उनले टिमको एकताले उपाधि उचाल्न सफल भएको बताए।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना भएको प्रतियोगितामा सात वटा फ्रेन्चाइज टिमले भाग लिएका थिए।

कोभिड १९ का कारण सरकारले लागू गरेका अधिकांस आचार संहित पालन गरिएको थियो। यस्तै प्रतियोगिता दर्शकविहीन आयोजना भयो।

गत वैशाख ११ गतेदेखि भएको प्रतियोगितामा काठमाडौं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो।

विधागत रुपमा उत्कृष्ट घोषितको सूची

सर्वोत्कृष्ट फरवार्ड : अन्जन विष्ट (ललितपुर सिटी एफसी – १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट मिडफिल्डर : मेसौके ओलुमोउ (काठमाडौं रेजर्स – १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट डिफेन्डर : दिनेश राजवंशी (धनगढी एफसी- १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट गोलकिपर : किरण कुमार लिम्बु (धनगढी एफसी- १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट प्रशिक्षक : बालगोपाल महर्जन (काठमाडौं रेजर्स – १ लाख रुपैयाँ)
इमर्जिङ खेलाडी : विश्वास श्रेष्ठ (काठमाडौं रेजर्स-५० हजार रुपैयाँ)
फेयर प्ले – बुटवल लुम्बिनी एएफसी                                                                                    तस्बिर: मुुुुकुन्द कालिकोटे