गण्डकीका मुख्यमन्त्रीद्वारा राजीनामा



काठमाडौं। आइतबार राजीनामा दिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थिरता नचाहनेहरुको अराजनीतिक चलखेलका कारण काम गर्न नसक्ने स्थिति आएको बताएका छन् ।

आइतबार राजीनामा दिएपछि एक वक्तव्य जारी गर्दै उनले स्थिरता नचाहने र विकास विरोधी तत्वको चलखेलका कारण एउटै घोषणापत्रबाट निर्वाचनमा गएको दलले समेत असहयोग गरेकाले काम गर्ने वातावरण नभएको उल्लेख गरेका छन् ।

‘…देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्र मार्फत निर्वाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको’ उनले वक्तव्यमा उल्लेख गरेका छन् ।

उनले एउटै मोर्चाबाट चुनाव लड्ने, सरकारमा बस्ने र अहिले बञ्चरो प्रहार गर्ने काम गरेको भन्दै नेकपा माओवादी केन्द्रप्रति आक्रोश पोखेका छन् ।

‘एउटै चुनावी मोर्चावाट लड्ने, एउटै घोषणापत्रवाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने प्रबृति लोकतन्त्र, संङघीयता र गणतन्त्रका लागि हानी पुर्‍याउने प्रवृति हो। हामीलाई थाहा छ बञ्चरोले बिर्सन त सक्ला सयौं चोट पाएको रुखलाई जीवनभर आफ्नो चोटको याद हुनेछ’ उनले भनेका छन् ।

गण्डकी प्रदेशका जनताले नेकपा एमाले ठूलो दलका रुपमा सरकार सञ्चालन गर्ने र नेपाली कांग्रेसाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको भन्दै उनले खोई जन अपेक्षा अनुसार व्यवहार गरेको भनी प्रश्न गरेका छन् ।

‘तर पनि हाम्रो पार्टी नेकपा (एमाले) र हामी फल दिइरहने वृक्ष हौं, शीतलता पनि दिएका छौ र दिइरहने छौ तर जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन्।लोकतन्त्रमा सबै खराबीहरुको उपचार जनताबाट हुनेछ’ गुरुङले भनेका छन् ।