अन्तरिक्ष स्टेसन बनाउन चीनको पहिलो महत्त्वपूर्ण रकेट प्रक्षेपण



काठमाडौँ। चीनले नयाँ स्थायी अन्तरिक्ष स्टेसन निर्माणका लागि आवश्यक एक महत्त्वपूर्ण अंश बिहीवार प्रक्षेपण गरेको छ।

चीनको अन्तरिक्ष आकाङ्क्षामा यो नयाँ कडी हो। अन्तरिक्ष स्टेसनमा अन्तरिक्षयात्रुहरूका लागि वासस्थान रहने तियाहे अंश बिहीवार वेनच्याङ् अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च–५बी रकेटमार्फत पठाइएको हो।

चीनले आफ्नै नयाँ अन्तरिक्ष स्टेसन सन् २०२२ मा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। अहिले अन्तरिक्षमा रहेको एक मात्र स्टेसन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन हो जसमा चीनलाई सहभागी गराइएको छैन।

अन्तरिक्ष अन्वेषणमा चीन नयाँ खेलाडी हो। सन् २००३ मा मात्रै चीनले आफ्नो पहिलो अन्तरिक्षयात्री पठाएको थियो। अमेरिका र तत्कालिन सोभियत सङ्घपछि त्यस्तो गर्ने चीन तेस्रो देश बनेको थियो। अहिलेसम्म चीनले परीक्षणका रूपमा दुई वटा स्टेसन अन्तरिक्षमा पठाएको छ जसमा अल्पकालीन रूपमा अन्तरिक्षयात्रीहरू रहन सक्छन्।

चिनियाँ भाषामा ुस्वर्गमा अमनचैनु अर्थ लाग्ने नाम राखिएको ुतियाहेु अन्तरिक्षमा कम्तीमा १० वर्ष सञ्चालनमा रहने बताइएको छ। चीनले सो स्टेसनका लागि कम्तीमा थप १० अंशहरू पठाउने छ। सो अन्तरिक्ष स्टेसन पृथ्वीबाट ३४० देखि ४५० किलोमिटरको दूरीमा रहने छ।

रुस, अमेरिका, क्यानडा, युरोप र जापानको सहभागिता रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चीनको संलग्नता छैन। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन सन् २०२४ मा बन्द हुने बताइएको छ र त्यसपछि अन्तरिक्षमा एक मात्र स्टेसन चिनियाँ स्टेसन हुने सम्भावना छ।

चीनको अन्तरिक्ष सपना

यो प्रक्षेपणको एक महिनाअघि मात्रै चीन र रुसले संयुक्त रूपमा चन्द्रमाको सतहमा अन्तरिक्ष स्टेसन बनाउने घोषणा गरेका थिए। चीनको अन्तरिक्ष कार्यक्रमलाई नियाल्ने विश्लेषक चेन लानले एएफपी समाचार संस्थालाई त्यो ठूलो योजना भएको बताएका थिए।

यो चीनका लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अन्तरिक्ष सहकार्य योजना हो त्यसैले यो महत्त्वपूर्ण छ, लानले भनेका थिए। चीनले हालैका वर्षहरूमा आफ्नो अन्तरिक्ष आकाङ्क्षा प्रदर्शन गरेको छ। अन्तरिक्ष कार्यक्रममा ठुलो लगानी खन्याएको चीन सन् २०१९ मा चन्द्रमाको पछाडिको भागमा मानवरहित यान पठाउने पहिलो राष्ट्र बनेको थियो।