लुम्बिनी र गण्डकी प्रदेश सरकार धरापमा



काठमाडौँ। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन्।

केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उनले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने दाबी गरे। आइतबार रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधान भित्र बसेर भएकाले छिट्टै निकास निस्कने बताए। उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए।

त्यस्तै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको विकल्प खोज्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) एक ठाउँमा उभिएका छन्। कार्यदल नै बनाएर सत्ता समीकरणको प्रयास थालेका तीन दलको एउटै एजेण्डा छ, ‘यो सरकारको विकल्प खोज्ने।’

तीन दल एकातिर, एमाले अर्कातिर भएपछि प्रदेशसभाको अंक गणितमा तीन सिट भएको राष्ट्रिय जनमोर्चा निर्णायक बनेको छ। जनमोर्चाले कांग्रेस, माओवादी र जसपालाई साथ दिए नयाँ सरकार बन्छ भने एमालेलाई साथ दिए मुख्यमन्त्री गुरुङ नेतृत्वको वर्तमान सरकार कायमै रहन्छ।

२७ प्रदेशसभा सदस्य भएको एमालेलाई मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेको साथ छ। जनमोर्चाका ३ सांसदको समर्थन कायमै राखे सरकार कायमै रहन्छ। कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ सांसद छन् र नयाँ सरकार बनाउन उनीहरुलाई पनि जनमोर्चाकै साथ चाहिन्छ।

जनमोर्चाका सांसदहरुले भने सरकारका विषयमा पार्टीले निर्णय गर्ने बताइरहेका छन्। हालै मात्र पुनः अध्यक्षमा निर्वाचित चित्रबहादुर केसीले भने मुख्यमन्त्रीविरुद्ध आउने अविश्वासको प्रस्तावमै हस्ताक्षर गरेर जाने जिकिर गरेका छन्।

‘अब हस्ताक्षर गरेनौं भने शंका हुने अवस्था आयो। यिनीहरुको कतै सत्ताधारीसँग साँठगाँठ छ कि भन्ने प्रश्न उठ्न थाल्यो’ अध्यक्ष केसीले भने, ‘त्यसकारण अब अविश्वासको प्रस्तावको पक्षमै हस्ताक्षर गरेर जाने स्थिति आइसकेको छ।’