बहुमतकाे सरकार संकटमा



काठमाडौँ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय र प्रदेश सरकार अप्ठेरोमा परेका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भइ नेकपा बनेपछि उसैको नेतृत्वमा संघ र ६ वटा प्रदेशमा सरकार बनेका थिए। एकीकृत दुई पार्टी अलगअलग भइ बहुमत खण्डित भएपछि संघीय र प्रदेश सरकार दुवै अप्ठेरोमा परेका हुन्।

पूर्ववत् अवस्थामा फर्किएपछि माओवादी केन्द्रले संघीय सरकार परिवर्तनका लागि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग वार्ता गरिरहेको छ। उसले अर्को प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) सँग पनि वार्ता गरिरहेको छ। जसपासँगको वार्ता उपलब्धिमूलक बन्न सकेको छैन।

काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास सुरु गरेको छ। माओवादी अध्यक्ष प्रचण्डले शनिबार केही दिनमै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन्।

एमालेभित्रको विवादको फाइदा उठाउँदै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। अविश्वासको प्रस्ताव ल्याउँदा पास हुने सुनिश्चित नभएपछि उसले समर्थन फिर्ता लिने तयारी गरेको हो। आजको नागरिक दैनिकमा समाचार छ।