फेसबुकले बन्द गरिदियो म्यानमारको सेनाको पेज



काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकले म्यानमार सैनिकको पेज बन्द गरिदिएको छ। फेब्रुअरी १ मा भएको सैन्य कूको विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्डअनुसार सैनिकको पेज बन्द गरिएको जनाएको छ।

‘हाम्रो मापदण्डको पटक(पटक उल्लंघन गरेको तात्मादअ ट्रु न्युज इन्फरमेसन टिम पेज हटाइदिएका छौं’, फेसबुकका प्रतिनिधिले वक्तव्य जारी गर्दै भनेका छन्। म्यानमारको सैनिकलाई तात्मादअ भनेर चिनिन्छ। उसको ट्रु न्युज पेज आइतबारदेखि फेसबुकमा देखिन्न।

फेसबुकको यो कदमबारे म्यानमारको सैनिकले कुनै प्रतिक्रिया दिएको छैन। यसअघि आइतबार भएको प्रदर्शनका क्रममा मन्डालय सहरमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो।

म्यानमारका नागरिक दुई सातादेखि सैनिक कूविरूद्ध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ।