मंसिर १५ गते ‘राष्ट्रिय शक्ति नेपाल’ ले विशाल प्रदर्शन गर्ने



काठमाडौँ। पूर्वमन्त्री केशरबहादुर विष्टको नेतृत्वमा रहेको राष्ट्रिय शक्ति नेपाल’ ले यहि मंसिर १५ गते राजधानीको माईतीघर मण्डलमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ।

संगठनका प्रवक्ता अनिल योगीका अनुसार उक्त प्रदर्शनमा हजारौं मानिसहरुले एकसाथ गणतन्त्रको खारेजी र राजसंस्थाको पुनःस्थापनाको नारा लगाउने छन्। वर्तमान राजनीतिक दलहरु असफल बनिसकेको राष्ट्रिय शक्ति नेपालको दाबी छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग रहेका पूर्वमन्त्री विष्टको नेतृत्वमा रहेको उक्त अभियानले गाणतन्त्रले देशलाई संकट सिर्जना गरेको बताएको छ। वर्तमान संविधान खारेजीका लागि मुभमेन्ट सुरु भएको संयोजक विष्ट बताउछन्।

मंसिर १५ गतेको प्रदर्शनले वर्तमान संविधान देशको रक्षा गर्न नसक्ने र वर्तमान राजनीतिक दलहरु असफल सावित भइसकेको सन्देश जनतालाई सुनाउने प्रवक्ता योगीको भनाई छ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतक दलहरुले काम गर्न नसकेको लिखित जानकारी दिएसँगै सक्रिय बनेका विभिन्न समूहरुले पछिल्लाे  समयमा विशाल प्रदर्शन गर्दै आइरहेका छन्। केही दिन अघि पोखरा र जनकपुरमा पूर्वराजा शाह र कोमल शाहको तस्बिर अंकित टि–सर्टसहित राष्ट्रिय झन्डा बोकेर हजारौं मानिसहरु प्रदर्शनमा निस्केका थिए।

त्यस्तै यहि मंसिर ४ मा कैलालीको धनगढीमा ठूलो प्रदर्शन भएको थियो। ‘स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम’ ले मोटरसाइकल र्‍याली निकालेको थियो। जहाँ राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, राजसंस्था हाइहाई, गणतन्त्र बाईबाई जस्ता नाराबाजी भएका थिए।