‘शैक्षिक वर्ष खेर फाल्नु हुँदैन, विकल्प खोज्नुपर्छ’



काठमाडौँ। अनेरास्ववियूकी केन्द्रीय नेता सुनिता बरालले कोरोना महामारीका कारण अनिश्चित बनेको शैक्षिक क्षेत्रको बारेमा विकल्पको खोजि गर्नुपर्ने बताएकी छन्।

विद्यालयका ७० लाख र विश्वविद्यालयका ५ लाख विद्यार्थीहरुको एक शैक्षिक सत्रलाई खेर नफाल्न बराले सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएकी छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त सुझाव दिएकी हुन्।

उनले लेखेकी छन, ‘एक शैक्षिक वर्षमा १ सय ९० दिन पठनपाठन हुनुपर्नेमा चार महिना बितिसक्यो। कोरोना फैलिदै गरेको परिप्रेक्षमा नियमित पठनपाठन सुरु हुनेसमय अझै यकिन छैन। जे भएपनि विद्यालय तहका करिब ७० लाख विद्यार्थीको एकवर्ष त्यसै खेर फाल्नु हुँदैन। यो कुरा विश्वविद्यालयमा तह अध्ययनरत साढे ५ लाख विद्यार्थीको हकमा पनि यही लागूहुन्छ।’

नेता बरालले कोरोना महामारीको सम्भावित जोखिम टरिनसकेको अवस्थामा सरकारले नयाँ रणनीति बनाउनु पर्ने बताएकी छन्।

उनले अगाडि लेखेकी छन्, ‘अब सरकारले परिस्थिति र परिवेशअनुकूल उपयुक्त रणनीतिसहितको पठनपाठन र मूल्यांकनको खाका बनाउनुपर्छ यसमा कुनै खाले ‘ईफ वट’ हुँनैहुन्न। यसको ब्यबस्थापनमा स्थानीय सरकारहरूलेपनि आ–आफ्नो अवस्था र आवश्यकता बमोजिम चल्न÷चलाउन मार्गनिर्देश गर्नुपर्छ। जसले गर्दा संघीय सरकारको मात्रै मुख ताक्न नपरोस्। कहीकतै समस्या छनभने सरकारले सल्टाउनु पर्छ। नभए विश्वविद्यालयहरू आफैं सरकार हुन्, उच्च शिक्षाका स्वायत्त निकायहरूले समयअनुकूल अघि बढ्ने रणनीति आफैंले बनाउनुपर्छ। जसलेगर्दा देशको शैक्षिक ग्राफ नबिग्रीयोस्। अब त वैकल्पिक सिकाइ क्रियाकलाप अभियानको प्रभावकारीताको मूल्याङ्कन गर्दै सुधार र विस्तारबारे रणनीती अबलम्बन गर्ने समय पनि भैसक्यो।’

उनले लेखेकी छन्, ‘नियमित अध्ययनबारे अभिभावक र बुझ्ने उमेरका विद्यार्थी आफैं सक्रिय हुनुपर्छ सरकारले उहाँहरुको आबश्यकताको सम्बोधन गर्नैपर्छ। राज्यको खास उपस्थिती हुने समय यस्तै समयमा नै हो। निजी विद्यालयले कुनै न कुनै रूपमा ‘भर्चुअल’ कक्षालाई निरन्तरता दिए पनि खास समस्या झन्डै ८० प्रतिशत विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमाछ। प्रविधि नभएका विद्यार्थीका हकमा सरकारले विशेष रणनीति अंगीकार गर्नुपर्छ। सरकारले लकडाउन अन्त्य गरेपछि भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने र परीक्षाका गतिविधि अघि बढाउने निर्णय गरेको भएपनि पछिल्ला दिनमा कोरोना संक्रमण बढेपछी अन्योल बढेको देखिन्छ जुन जती सक्दो चाँडो निकासमा पुग्नुपर्छ।’

विश्वविद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन गर्न समस्या नभएको भन्दै नेता बरालले विश्वविद्यालयले उपयुक्त उपाय अपनाउनु पर्ने बताएकी छन्।

उनले भनेकी छन्, ‘विश्वविद्यालयहरूमा वैकल्पिक विधिबाट पठनपाठन गर्न विद्यालयमा जस्तो समस्या छैन। परम्परागत विधिबाट असम्भव भइरह्यो भने परीक्षाकालागिपनि विद्यार्थीको सिकाइ मूल्यांकन गर्ने अरू उपाय पहिल्याउनुपर्छ। विश्वविद्यालय अनुदान आयोगले छाता निर्देशिका जारी गर्दै अनलाइनसहित विभिन्न वैकल्पिक विधि प्रयोग गरेर पठनपाठन साथसाथै परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरू तयारी थाल्नैपर्छ। कोरोना महामारिका विच वैकल्पिक उपायहरू अपनाउदै शैक्षिक सत्र नै गुम्न न दिनतर्फ सबै सतर्क हुनुपर्छ। यो करिब ७५ लाख विद्यार्थीको भविष्य सोच्ने गम्भिर समय हो।’