‘सत्ता विदेशीले ढलाउने र बचाउने हो भने हाम्रो राष्ट्रियताको के अर्थ?’



जुम्ला। नेपाली कांग्रेसका युवानेता लक्ष्मण शाहीले सरकार ढलाउने, पार्टी जुटाउने र फुटाउने काम विदेशी राजदुतहरुले गर्ने हो भने नेपाली राष्ट्रियताको अवस्था के हुन्छ ? भन्दै प्रश्न गरेका छन्।

कांग्रेस जुम्लाका संगठन विभाग प्रमुखसमेत रहेका नेता शाहीले मंगलबार सामाजिक सञ्जाल मार्फत सत्तारुढ नेकपातर्फ संकेत गर्दै उक्त प्रश्न गरेका हुन्। स्व. मदन भण्डारीको ६९औं जन्मोत्सवका अवसरमा असार १४ गते ‘मदन भण्डारी फाउण्डेसन’ ले शनिबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता ढलाउनका लागि भारत र नेपालका केही नेताहरू लागेको बताएका थिए।

उक्त विवादित अभिव्यक्तिलाई लिएर नेकपाको स्थायी कमिटीका ३१ जना सदस्यले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका थिए। नेता शाहीले ओलीको दाबीलाई इंगित गर्दै लेखेका छन्, ‘सरकार ढलाउन भारतीय राजदूत सक्रिय भए भन्ने प्रम ओलीको भनाई, सरकार बचाउन चिनियाँ राजदूत सक्रिय, नेताहरुको घरदैलोमा पुगेका खबहरु आएका छन्। जब नेपालको सरकार ढलाउने र बचाउने काम नै बिदेशी राजदूतहरुबाट हुने हो भने हाम्रो राष्ट्रीयता कहाँ पुग्दै छ?’

त्यस्तै नेता शाहीले सत्ताका लागि नेपालका नेताहरु र सरकारहरुले राष्ट्रियतालाई तिलाञ्जली दिने काम गरिरहेको बताएका छन्।

नेता शाहीले कर्णाली सन्देशसँग भने, ‘हिजोका दिनहरुमा कांग्रेसको आन्तरिक विवाद होस् या सरकार सञ्चालानमा। भारतकाे उपस्थिति हुँदा नेपाली कम्युनिष्टहरु खुलेर कांग्रेसलाई गालि गर्थे। भारतीय एजेण्ट जस्ता तुच्छ शब्द प्रयोग गर्थे। आज आफै सत्तामा छन्। आफ्नो पार्टीको विवाद आफै मिलाउन नसकेर चीनियाँ राजदुतको इसारामा नाचिरहेका छन्। गत बैशाखमा नाचे। फेरी अहिले पनि नाच्दैछन्।’

उनले अगाडि लेखका छन्, ‘कुर्ची ढलाउन र बचाउन राष्ट्रियता नै तिलान्जली ? काङग्रेस र कम्युनिष्टमा केही फरक देखिएन खोक्रो राष्ट«वाद।’

राष्ट्रपतिदेखि नेकपा नेताको घरदैलोमा यान्छी

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाको आन्तरिक विवाद मिलाउनका लागि दौडधुप तीव्र पारेकी छन्। चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गरिरहेका छन्।

कुनै पनि देशका राजदुतहरुले यसरी विवादित बनेको विषयमा प्रत्यक्ष सरोकार राख्नु र परराष्ट्र मन्त्रालयसँग कुनै अनुमति नलिएर पूर्व प्रधानमन्त्रीहरुलाई भेट्न पाउँदैनन्। तर, नेपाली राजनीति उथलपुथल हुँदा भारत(चीन सक्रिय भूमिका देखा पर्छन्।

सरकारले गत बैशाखमा ल्याएको दल विभाजन र संवैधानिक परिषदको अध्यादेशले नेकपाभित्र विवाद सिर्जना गरेको बेलामा पनि चीनियाँ राजदुत रातारात सक्रिय बनेकी थिईन्। त्यसक्रममा उनले नेकपाका शीर्ष नेताहरुलाई भेटेपछि विवाद केही मत्थर भएको थियो।

अहिले सत्तारुढ नेकपा आन्तरिक कलहका कारण फुटको संघारमा आइपुगेको विश्लेषण भइरहेका बेलामा चीनियाँ राजदुतको सक्रियता निक्कै बढको देखिन्छ।

केही दिन पहिले यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका खवरहरु सार्वजनिक भएका थिए। असार २१ गते पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी यान्छीले २३ गते मंगलबार नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन्।

भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन्। खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो। कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ।

नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ। नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ।

नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको थियो।

ओली पक्षले राजीनामा नदिने बरु नयाँ पार्टी खोल्ने धम्की दिएपछि ओली इतर समूह केही मत्थर देखिएको छ। नेकपाभित्रको विवाद मत्थर हुनुलाई कतिपयले चिनियाँ राजदूतको सक्रियतासँग पनि जोडेर हेर्ने गरेका छन्।