आठ जना प्रहरीको गोली हानी हत्या



काठमाडौँ। भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ।

बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन् । केही प्रहरीहरु घाइते छन्। उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ।

लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए। ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ।

प्रतिरक्षामा गोली चलाउँदा दुवेको समूहका तीन सदस्यसमेत मारिएको जानकारी प्रहरीले दिएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले आक्रमणकारीहरुविरुद्ध कारवाही चलाउन निर्देशन दिएका छन् । उत्तर प्रदेश प्रहरीले सबै सीमा नाका बन्द गरेको छ।