रोपाइँमा हिलो छ्याप्न नपाइने, मास्क र स्यानिटाइजर अनिवार्य



काठमाडौँ। असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा यस वर्ष हिलो खेल्न नपाइने भएको छ।

कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरिएको छ।

‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक ९हिलो छ्याप्ने आदि० गतिविधि नगर्ने’ कृषि विभागले तयार पारेको प्रोटोकलमा भनिएको छ।

सीमित सहभागिता र सुरक्षा मापदण्ड पालना गरी महोत्सवको कार्यक्रम गरिने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताए। ‘कोरोना रोग संक्रमण सुरक्षा मापदण्ड अपनाएर सामाजिक र भौतिक दुरी कायम राख्दै रोपाइँ महोत्वस गरिने छ’ उनले भने।

अनलाइन खबरका अनुसार सामान्यतया रोपाइँ महोत्सवमा धान रोप्न ठिक्क पारेको खेतमा एक अर्कामा हिलो छ्यापेर रमाइलो गर्ने गरिन्छ। तर यसवर्ष सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट (२ मिटर) दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ।

सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १००.४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा प्रवेश नदिने पनि रोपाइँ महोत्सव प्रोटोकलमा उल्लेख छ।
महोत्सवमा प्रवेश गर्नुअघि मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउनुपर्नेछ। खाजा वा चिया खाने बेला, आवतजावत गर्दा कम्तीमा ६ फिटको दुरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने नियम पनि सरकारले बनाएको छ।

रोपाइँ महोत्सवमा सम्भव भएसम्म सामूहिक खाजा निरुत्साहित गर्ने, कम श्रम लाग्ने प्रविधि वा मेसिन प्रयोग गर्ने, रोपाइँपछि साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर लगाउने कृषि विभागले नियम बनाएको छ।

यस वर्ष १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको औपचारिक कार्यक्रम भने कषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको सहभागितामा उदयपुरको त्रियुगा नगरपालिका हुनेछ। काठमाडौं उपत्यकामा भने कृषि विभागले खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को हातामा कार्यक्रम गर्नेछ।