सन् १९७९ मा ईरानी क्रान्तिले अमेरिकी पक्षधर शाह राजालाई अपदस्थ गरेयता दुई देशबीच घृणाको सम्बन्ध थियो । १९ वर्षपछि दुई देशबीच हुन गइरहेको फुटबल खेल राजनीतिमुक्त हुनेवाला थिएन । यसमा फिफा पनि चनाखो हुनुपर्ने थियो ।
२१ जुनमा लियोनस्थित जिरल्यान्ड रंगशालामा भएको यस खेलका लागि ईरानमा जन्मिएका मर्दाद मसुउदी फिफा मिडिया अफिसर तोकिएका थिए, तर खेलमा कुटनीतिक र सुरक्षा सवाल पनि जोडिएकाले कर्तव्य फराकिलो थियो ।
‘सुरुमै देखिएको एउटा ठूलो समस्या त ईरान टिम बी र अमेरिका टिम ए थियो,’ मसुउदीले भने, ‘फिफाको नियमअनुसार खेल सुरु हुनअघि हात मिलाउनका लागि टिम बी हिँडेर टिम ए समक्ष जानैपर्छ । तर ईरानका सर्वोच्च नेता खामिनेईले आदेश दिएका थिए कि ईरानी खेलाडीहरु अमेरिकी भएसमक्ष जाने छैनन्।’
अन्ततः मसुउदीले एउटा सम्झौता गराए, जसअनुसार अमेरिकीहरु हात मिलाउनका लागि ईरानी समक्ष पुगेको देखियो, तर यो त केवल सानो चिन्ताको निवारण थियो।
एक विद्रोही संगठनले यस म्याचका लागि ७ हजार टिकट किनेको थियो। उनीहरुको योजना खेलका दौरान विरोध प्रदर्शन गर्ने थियो। ईरानस्थित मुजाहिद्दिन खाल्क इराकी राष्ट्रपति सद्दाम हुसैनको लगानीमा चलिरहेको समुह थियो र यसको मुख्य लक्ष्य ईरानी सत्तालाई अस्थिर बनाउनु थियो। पक्कै पनि उनीहरुलाई लियोनमा स्वागत थिएन, तर ४२ हजारको भीडमध्येका यति ठूलो संख्याका समर्थकहरुलाई नियन्त्रण राख्न सहज हुनेवाला पनि थिएन।
‘गुप्तचरबाट हामीले सूचना पाएका थियौँ र हामीलाई थाहा थियो यसले साँच्चै समस्या निम्त्याउने हुनसक्छ,’ मसुउदीले भने, ‘हामीले टिभी क्यामेरा म्यानलाई फोटोसहित जानकारी गराएका थियौँ, जसकारण उनीहरुलाई थाहा थियो कि कस्ता व्यक्ति र कुन ब्यानरलाई नखिच्ने । यस खेलले विश्वभर ठूलो उमङ्ग ल्याएको थियो। तर, हामीसामु यो समूहले अवस्था बिगार्न सक्छ र त्यसलाई आफ्नो राजनीतिक उद्देश्यमा प्रयोग गर्नसक्छ भन्ने थियो।’
धेरै प्रदर्शनकारीहरुले केही ब्यानरहरु लुकाएर रंगशाला छिराइसकेका थिए, तर टिभी क्यामेराले त्यसलाई देखाइएन। विद्रोही समुहको सुरुवाती योजना असफल भयो, तर गुप्तचर स्रोतलाई प्लान ‘बी’ बारे पनि खबर थियो –मैदान कब्जा। फ्रान्सको दंगा पुलिसलाई पनि यसको संकेत थियो। ‘उनीहरु अति नभएसम्म मैदान प्रवेश गर्नसक्ने थिएनन्,’ मसुउदीले भने । यो अवरोध रोक्नका लागि अतिरिक्त सुरक्षाकर्मी रंगशाला पुगेका थिए।
तपाईंले टिभीमा म्याच हेर्दा कुनै उथलपुथल याद गर्नुभएन होला। यही नै फिफा र ईरानी फुटबल फेडरेशनले गर्नसक्ने सबै कामना थियो ।
‘ईरानी फुटबल फेडेरेशनका अध्यक्ष आफ्नो देशको सम्भव भएसम्मको चमक देखाउनका लागि यस खेलको प्रयोग गर्न चाहन्थें,’ मसुउदीले भने, ‘मैदानमा लग्नका लागि हरेक खेलाडीलाई फूलको गुच्छा किनिदिन उनले किट म्यानलाई भनेका थिए । ती सेता गुलाफ थिए, जसलाई ईरानमा शान्तिको संकेतका रुपमा लिइन्छ ।’
दुई पक्षद्वारा संयुक्त टिम फोटो लिइयो र त्यसपछि संम्भवत विश्वकप इतिहासकै सर्वाधिक ठूलो ‘राजनीतिक भावना’ मिसिएको खेलको सुरुवातका लागि सिट्ठी बज्यो । रगत–पसिना उम्लिएको तर अनुशासित प्रतिस्पर्धामा पहिलो हाफ हुनभन्दा ५ मिनेटअघि ईरानले हमिद इस्टिलीको गोलमार्फत अग्रता लियो ।
खेलको ८४ औँ मिनेटमा मेहदी मदाभिकियाले अग्रता दोब्बर पारे । ब्रायन म्याक ब्राइडले खेलको अन्त्यतिर अमेरिकाबाट गोल फर्काएपनि ईरानले विश्वकप फुटबलमा आफ्नो पहिलो जित दर्ता गरेर इतिहास बनाइछाड्यो । सायद यो आफैंमा विश्वकप जितेको बराबर पनि थियो ।
‘जब अस्ट्रेलियालाई मेलवर्नमा हराएर ईरान विश्वकपका लागि छनोट भएको थियो, तब देशभर खुसीयाली मनाइयो,’ मसुउदीले स्मरण गरे, ‘मानिसहरु ईरानका सडकमा नाचिरहेका थिए । खुलेआम रक्सी पिइरहेका थिए । महिलाहरुले पनि आफ्नो बुर्का निकालेका थिए । रिभोलुसनरी गार्ड (ईरानी सेना) ले त्यतिबेला केही गरेन किनकी उनीहरु पनि धेरै खुसी थिए । उनीहरु पहिले फुटबल समर्थक, अनि मात्रै रिभोलुसनरी गार्डस् थिए । अमेरिकाविरुद्ध फ्रान्स विश्वकपमा हासिल गरेको जितले ती सबै भावना र खुसीयाली फर्कायो । यो सबै देखेर ईरानी सत्ता हल्का डराएको थियो ।’
ईरानसँग पराजित भएपछि अमेरिका विश्वकपको पहिलो चरणबाटै बाहिरियो, तर यसका बाबजुद खेलाडीहरुले ऐतिहासिक खेलको हिस्सा बन्न पाएको विषयमा गौरव गरे । ‘राजनीतिज्ञहरुले २० वर्षमा गरेभन्दा धेरै त हामीले ९० मिनेटमा ग¥यौं,’ अमेरिकी रक्षक जेफ अगोओसले तत्कालीन समय भनेका थिए ।
१८ महिनापछि दुई टिमबीच क्यालिफोर्निया पासाडिनामा फेरि मैत्रिपूर्ण खेल भयो । ‘धेरै अर्थबाट यो म्याच निकै महत्त्वपूर्ण थियो किनकी यो मैत्रिपूर्ण थियो र यसका लागि दुबै पक्षबाट सहकार्यको जरुरी हुन्थ्यो,’ मसुउदीले भने,‘तर विश्वकपको खेल सफल भएपछि मात्रै यो सम्भव भएको थियो ।’ मैदानभित्र र बाहिर, ईरानी फुटबलका लागि यो स्वर्णिम समय थियो ।
स्रोत : https://www.fourfourtwo.com/