मलालाले अक्सफोर्ड युनिभर्सिटीबाट डिग्री पूरा गरिन्



लन्डन। नोबल पुरस्कार विजेता मलाला युसफजाईले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट डिग्री पूरा गरेकी छन्।

२२ वर्षीया युसफजाईले शुक्रबार ट्विट गर्दै आफ्नो पढाइ पूरा भएकोमा खुसी व्यक्त गरेकी हुन्। दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा उनले डिग्री गरेकी हुन्। यसपछिका दिनमा के गर्ने भन्ने आफूलाई थाहा नभएको बताउँदै उनले भनिन्, अहिलेलाई नेटफ्लिक्स, पढाइ र सुताइ।

यसै उपलक्ष्यमा परिवारका सदस्यसँग केक काटेर खुसीयाली बाँडेका दुई तस्बिर उनले आफ्नो ट्विटरमा सेयर गरेकी छिन्। पाकिस्तानमा जन्मिएकी शिक्षा तथा मानवअधिकारकर्मी युसफजाई १५ वर्षको हुँदा तालिवान विद्रोहीको आक्रमणमा परेकी थिइन्।

स्कुलबाट घर फर्कने क्रममा तालिवान हतियारधारीले उनलाई टाउकोमै गोली हानेका थिए। घाइते युसफजाईलाई बेलायतमा लगेर बर्मिंगहमस्थित क्विन एलिजाबेथ अस्पतालमा उपचार गरिएको थियो।