जहाजबाट आएकालाई होल्डिङ सेन्टरमा, भारतबाट आएकालाई गोठमा



काठमाडौँ। नेपाल सरकारले विदेशबाट फर्किने नागरिकमाथि विभेद गरिएको टिप्पणी हुन थालेका छन्।

जहाजबाट आएकाहरुलाई राज्यले व्यवस्थित होल्डिङ सेन्टरमा र भारतबाट स्थलगत रुपमा आएका नेपाली नागरिकहरुलाई भैसी गोठमा राखिएको भन्दै सामाजिक सञ्जाल सरकारको विभेदकारी व्यवहारको विरोध भएको हो।

भारतबाहेकका देशबाट आउने नेपालीहरुले खर्च आफै व्यहोर्ने भनिएका कारण पनि यस्तो विभेद सहतमा आएको जानकारीहरु बताउछन्। उनीहरु राज्यले आफ्ना नागरिकहरुलाई विभेदरहित वातारणमा राखेर जीवन बचाउनुपर्छ भन्नेमा छन्।

केही दिन पहिले पश्चिम नेपालका विभिन्न स्थानमा कोरोना पोजेटिभ देखिएका नागरिकहरुलाई गोठमा राखिएका समाचार बाहिरिएका थिए। भारतबाट आएका कर्णालीबासीहरु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड विपरित सामूहिक रुपमा क्वारेन्टाइमा बस्न बाध्य छन्।

भारतबाट आएका नेपालीहरुलाई सीमासम्म गाडि लिएर उद्दार गर्ने कार्यजारी छ। प्रदेश सरकार जिम्मेवार रहने गरि उनीहरुको उद्दार भइरहेको छ। बाटोमा उनीहरुले खाना खान र राम्रोसँग बस्नसमेत नपाएका गुनासाहरु सुन्नमा आएका छन्।

देशका विभिन्न जिल्लामा विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित बनेका क्वारेन्टाइमा रहेका केही व्यक्तिको निधनसमेत भइसकेको छ। खासगरी दैलेखमा क्षमताभन्दा धेरै व्यक्तिहरु क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता छ। त्यस्तै अन्य केही जिल्लामा पनि व्यवस्थित क्वारेन्टाइन नभएका प्रतिक्रियाहरु आइरहेका छन्।

यता सरकारले कोरोना नियन्त्रणमा निक्कै ठूलो रकम खर्चि सकेको बताउछ। कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा नगरपालिका/गाउँपालिकाले गरी नौ अर्ब ८७ करोड रुपियाँ खर्च गरेको सरकारले जनाएको छ।

कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब तीन करोड खर्च भएको छ। प्रदेशहरूबाट एक अर्ब आठ करोड र पालिकाहरुबाट दुई अर्ब ७६ करोड रुपियाँ खर्च भएको छ।

यूएईबाट आएका १६९ जना होल्डिङ सेन्टरमा

यूएईबाट शुक्रबार काठमाडौं ल्याइएको १६९ जना राजधानीका होल्डिङ सेन्टरमा राखिएका छन्। उनीहरु १४ दिनसम्म क्वारेन्टाइनमा रहने छन्। उनीहरु सबैभन्दा बढी प्रदेश १ का नागरिक छन्।

उद्दार र व्यवस्थापनको कार्यमा खटिइरहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार प्रदेश नं १ का ४६, २ का २३ र बागमतीका ३७ जनालाई काठमाडौं ल्याइएको छ। गण्डकी प्रदेशका २८, प्रदेश नं. ५ का १८, कर्णालीका ४ र सुदुर पश्चिम प्रदेशका १२ जना नागरिक छन्।

उनीहरुमध्ये ६७ जना यूएईको इजादा फ्यासिलिटी म्यानेजमेन्ट, ७९ जना टान्स गार्ड सेक्युरिटी कम्पनी र ११ जना अन्यमा कार्यरत थिए। विमानस्थलमा अभिलेख संकलनपछि उनीहरुलाई प्रदेशगत रुपमा काठमाडौं, भक्तपुर र ललितपुरको होल्डिङ सेन्टरमा राखिएको छ।

सीसीएमसीका अनुसार नेपाली सेनाको व्यवस्थापनमा काठमाडौंमा बागमती, गण्डकी र ५ नं. प्रदेश, भक्तपुरमा प्रदेश १ र २ र ललितपुरमा कर्णाली र सुदुर पश्चिम प्रदेशका नागरिकलाई राखिएको छ।

सेन्टरमा विदेशबाट आएका नागरिकको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षणलगायतका कार्यहरु हुनेछन्। त्यसपछि सम्बन्धित प्रदेशहरुको समन्वयमा त्यहीँ क्वारेन्टाइनमा राख्ने गरी पठाइनेछ। उनीहरुको क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ।

सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा एकरएक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको जनाइएको छ। काठमाडौंमा प्रदेश नं। ३, ४ र ५, भक्तपुरमा प्रदेश नं। १ र २ र ललितपुरमा कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकलाई राखिनेछ।

काठमाडौंमा होल्डिङ सेन्टरका रुपमा सुकेधारामा मिराकल पार्टी प्यालेस, स्काई जोन पार्टी प्यालेस र बसुन्धारामा यति पार्टी प्यालेस र कुण्डलिनी पार्टी प्यालेसलाई तयार गरिएको छ। भक्तपुरको सूर्यविनयामा इम्पेरियल पार्टी प्यालेस र ठिमीमा हेरिटेज पार्टी प्यालेस तयारी अवस्थामा राखिएको छ।

ललितपुरको धोविघाटमा सिद्धार्थ कलेज, महालक्ष्मीस्थानमा डिलाइट पार्टी भेन्यू र खरिवोटमा मण्डला पार्टी भेन्यू तयार गरिएको छ। काठमाडौंको मिराकल र ललितपुरको सिद्धार्थ कलेजलाई रिजर्भका रुपमा तयार गरिएको जनाइएको छ।