भारतमा कोरोना: २४ घण्टामा १३४ को मृत्यु, ७८ हजार संक्रमित



काठमाडौँ। भारतमा कोरोना भाइरस (कोभिड -१९) बाट पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको मृत्यु भएको छ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार पाँच सय ४९ पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७८ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा तीन हजार ७ सय २२ नयाँ संक्रमित फेला परेका छन्।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार नौ सय २२ पुगेको छ। महाराष्ट्रमा अहिलेसम्म नौ सय ७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ।

त्यस्तै, गुजरातमा अहिलेसम्म नौ हजार दुई सय ६७ संक्रमित पुगेका छन्। यो राज्यमा मृत्यु हुनेको संख्या पनि पाँच सय ६६ पुगेको छ।

भारतको मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार एक सय ७३ संक्रमित फेला परेका छन्। २ सय ३२ जनाको मृत्यु भइसकेको छ। भारतको पश्चिम बंगालमा दुई हजार दुई सय ९० संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ७ पुगेको छ।

उत्तर प्रदेशमा पनि संक्रमित संख्या तीन हजार सात सय २९ पुगेको छ। उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट ८३ जनाको मृत्यु भएको छ।

बिहारमा नौ सय ४० संक्रमित पुग्दा सात जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म भारतमा २६ हजार दुई सय ३५ जना संक्रमित निको भएर घर फर्किएका छन्।