विदेशमा अप्ठ्यारोमा परेकालाई स्वदेश फर्काऊ: कांग्रेस



काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ।

विदेशमा अप्ठ्यारामा परेका श्रमिक, पढाइ बन्द भएर बसेका विद्यार्थी, तीर्थयात्रा बन्द भएर अलपत्र परेका नागरिक, आफन्त भेट्न जाँदा रोकिएका नागरिकलाई सरकारले उद्धार गर्नुपर्ने नेपाली कांग्रेसको सरकारलाई सुझाव छ। यसअघि देखि  यो विषयमा कर्णाली सन्देशले निरन्तर आवाज उठादै आएको थियो।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई समेत स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न आग्रह गरे।

कांग्रेसले कोरोना संक्रमणको परीक्षण, संक्रमितको कन्ट्याक ट्रेसिङ र उपचार प्रभावकारी बनाउन आग्रह गरेको छ। सरकारले कोरोना संक्रमण परीक्षण गर्न देशभर प्रयोगशाला विस्तार गर्नु सकारात्मक भएको तर स्वास्थ्य सामग्रीको आयात अपारदर्शी र ढिलो भएको प्रवक्‍ता शर्माले बताए।

त्यस्तै चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले विदेशमा अध्यनरत नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै संघले बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो।