के हो सेल्फ क्वारेन्टाइन ? पालना गर्नुहोस् यी नियम



काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) को प्रकोप यतिबेला विश्वव्यापी बनेको छ। कोभिड–१९ को संक्रमणबाट विश्वमा १० हजार बढीको मृत्यु भइसकेको छ भने साढे २ लाख व्यक्ति संक्रमित छन्।

अहिलेसम्म कोरोनाको महामारी नफैलिएको नेपालमा कोरोना रोकथामका लागि सरकारले विभिन्न निर्देशन तथा सतर्कताका उपायहरु तय गरेको छ। जसअनुसार सरकारले तेस्रो मुलुकबाट फर्किने नेपालीहरुले पनि सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भनेको छ।

कोभिड–१९ प्रभावित देशहरुबाट विगत १४ दिनमा यात्र गरी नेपाल आएका व्यक्तिहरु र कोभिड–१९ संक्रमित व्यक्तिहरुको नजिकको सम्पर्कमा आएका व्यक्तिहरुसमेत सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने छ। जसका लागि सरकारले नियमहरु बनाएको छ।

यस्ता छन् सेल्फ क्वारेन्टाइनका नियमहरु

  • म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु, र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तीमा १ मिटर दूरी राख्नेछु।
  • म छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु।
  • म आफु बस्ने कोठा आफै सफा गर्नेछु।
  • म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवात जावतलाई सीमित गर्नेछु। यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने अवस्थाको सुनिश्चित गर्नेछु।
  • म स्वास्थ्य संस्था जानबाहेक अन्य कामको लागि घर बाहिर जाँदिन। म काममा, विध्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन।
  • म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २० सेकेन्डसम्म धुनेछु, वा हात सफा राख्न अल्कोहल युक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु। म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु।
  • मैले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग गर्ने भाँडा, तौलीया र रुमाल, ओछ्यान, वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन। प्रयोग गरेपछि यी सामानहरू म साबन र पानीले सफासँग धुनेछु।
  • म अन्य व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कलाई कम गर्न सक्दो प्रयास गर्नेछु।
  • यदि अन्य व्यक्तिसँगको सम्पर्कमा आउन पर्दा, म कम्तिमा १ मिटर ९३ फिट० को दूरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु।
  • खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्नेछु।
  • म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठांउमा फाल्नेछु र फाले पछि तुरून्तै कम्तीमा २० सेकेन्डसम्म आफ्ना हातहरू साबुन र पानीले मिचीमिची धुनेछु।
  • रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु।
  • म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु।
  • म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाच्नेछु र दिईएको फाराममा रेकर्ड गर्नेछु। मलाई दिइएको निर्देशनअनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु।
  • कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु।
  • म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन। मैले दिएका माथिका उल्लिखित विवरणहरू पूर्ण रूपमा सहि छन्, र गलत वा अपूर्ण विवरणको कारण उत्पन्न हुने कुनै पनि समस्याहरूको लागि म स्वयं जिम्मेवार हुनेछु भन्ने कुरा घोषणा गर्दछु।

ग्यासको कालोबजारी गरे ५ वर्ष कैद

 

सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको हो।

कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी भएका कारण उपभोक्ताले नपाएको हुन सक्ने सरकारको भनाइ छ। मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ।

खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङको तथा ठूला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने, सबै जिल्लाको खाद्यान्न विवरण संकलन गर्ने निर्णय पनि गरेको मन्त्रालयका एक अधिकारीले बताए। सरकारले खाद्यान्न अभाव भए हेलिकप्टरबाट भए पनि ढुवानी गर्ने, कर्मचारी कामका लागि २४ घण्टा तयार रहनुपर्ने निर्णय पनि गरेको छ।