कोरोना भित्रन नदिनेगरी काम गरिरहेको स्वास्थ्य मन्त्रालयको दाबी



काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा कोरोना भाइरस नेपाल भित्रिन नसक्ने बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लवले आयोजना गरेको कार्यक्रममा उनले भने,‘कोरोनालाई नेपाल आउन नदिनु हाम्रो प्रमुख लक्ष्य हो। सोहीअनुसार काम गरिररहेका छौं। सरकारले राम्रो तयारी गरेको छ।’

डा. देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे। उनले भने,‘रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वासप्रश्वासमा गाह्रो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ। विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ। सयभन्दा बढि फरेनहाईट टेम्प्रेचर देखियो भने निगरानीमा राखिन्छ।’

उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए। त्यतिमात्रै, होइन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाइएको पनि उनले जनाए। उनले भने,‘अहिले १९ जनाको जनशक्तिले काम गरिरहेको छ। ६ वटा थर्म मिटर प्रयोग भएको छ। व्यवस्थापन चुस्तदुरुस्त बनाएका छौं।’

हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाइएको उनले स्पष्ट पारे। शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि बेड आईसोलेशन बेड समेत राखिएको उनले जनाए। चीनबाट उद्धार गरेर ल्याईएका सबैको दुई पटकसम्म स्वास्थ्य परीक्षण गरिएको र सबै रिपोर्ट राम्रो आएकोले भर्खरै घर फकाईएको पनि उनको भनाई छ।

कार्यक्रममा सरुवा रोग विशेषज्ञ एवम् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए।

अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए। उनले भने, ‘२३ जना भर्ना हुनुभएको थियो। त्यसमध्ये एक जनामा पोजिटिभ देखिएको छ। १८ जनामा नेगेटिभ देखियो। बाँकीको रिपोर्ट आउँदैछ।’

कोरोनाको लक्षण देखिए त्यहीअनुसार उपचार गर्ने गरिएको सुनाउँदै उनले टेकु अस्पतालमा अहिले ४० बेड क्वारेन्टाईन बेड र ५ आईसोलेशन बेड बनाईएको र त्यस्तो लक्षण देखिएकाहरुलाई १४ दिन राखेर उपचार गर्ने व्यवस्था गरिएको बताए।

कोरोनाको संक्रमण ८० देखि ८२ प्रतिशत चाहीँ सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उनले स्पष्ट पारे । यसबाट मृत्यु हुने दर एक सयमा २ देखि ३ मात्रै रहेको बास्तोलाले बताए।