नेपालका जस्ता महंगा कमरेड विश्वमै छैनन्: अनुराग शाह



काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाहले नेपालका जस्ता महंगा कम्युनिष्ट विश्वमै  नभएको टिप्पणी गरेका छन्।

विहीबार मात्रै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटा कमिसनको काण्डमा मुछिएपछि विभिन्न टिका टिप्पणी हुन थालेका छन्। यसै सन्दर्भलाई व्यङ्ग्य गर्दै नेता शाहले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपालका जस्ता महंगा कमरेड विश्वका कुनै पनि मुलुकमा छैनन् जस्तो लाग्यो।’

त्यस्तै साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मासमेत पटक पटक छलफल भएकाले सञ्चारमन्त्रीको कमिसन काण्डका दोषी प्रधानमन्त्रीसमेत रहेको कांग्रेसको आरोप छ। यस प्रकरणको जिम्मा प्रधानमन्त्री केपी शर्माले लिनुपर्ने र यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने कांग्रेसको माग छ।

के हाे कमिसन अडियो प्रकरण ?

भक्तपुरको बालकोटस्थित प्रधानमन्त्रीकै निजी निवासमा बस्दै आएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ।

सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन्। त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ।

‘यस्तो कुरामा यी मु.. कर्मचारीसँग लाग्यो भने यिनीहरुले हेप्छन्‘’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु..ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस्।’

अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ। अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन्,‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ।। समय मिलाउनुहोला।’

२ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ। मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ।

सूत्रहरुका अनुसार मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र हुन्। मन्त्रीसँग एमओयु गर्ने र कमिसन लेनदेन गर्ने कुराकानी भइसकेपछि मन्त्री पछि हटेपछि स्वीस एजेन्टले अडियो ‘लिक’ गरेको देखिन्छ।