सुर्खेत र दैलेख प्रदेश सरकारकाे उपेक्षामा: सांसद रेग्मी



सुर्खेत। कर्णाली प्रदेश सभाका सदस्य धर्मराज रेग्मीले सरकारका काम कारबाहीमाथि गम्भीर प्रश्न खडा गरेका छन्। शनिबार प्रदेश सभाको पाँचौ अधिवेशनको दोस्रो बैठकमा उनले सरकारका काम कारबाहीलाई लिएर चर्को आलोचना गरेका हुन्।

सांसदले रेग्मीले सरकार संचालन गर्नु कुनै कम्पनी वा क्लव संचालन गरेजस्तो नभई यो विधि र प्रकृयामा चल्नु पर्नेमा सुझाव दिएका छन्। उनले भने, ‘लोकतन्त्रमा सरकार पारदर्शी हुनुपर्छ। सरकार संचालनका दुई वर्षका उपलब्धी के हुन् ? संसदमा राख्नुपर्ने हुन्छ। मुख्यमन्त्री प्रदेश सभालाई जानकारी दिनुपर्छ।’

सांसद रेग्मीले प्रदेश सरकारले सुर्खेत र दैलेख जिल्लालाई निषेध गरेकोमा आपत्ति जनाएका छन्। उनले भने, ‘सुर्खेत र दैलेखलाई विकास र अनुदानमा किन पक्षपात गरिदैछ ? यहाँका जनताको परिवर्तनमा योगदान छैन ? परिर्वतनका लागि यहाँका मानिसले बलिदानी दिएका छैनन्? हामीप्रति कुनै आग्रह पुर्वाग्रह छ, हामीले कुनै गल्ती गरेका छौ ? हामीले विकास र अनुदान नपाउनुपर्ने कारण के छ ? हाम्रा मान्छेहरुका काम किन हुँदैनन् ?’

उनले अगाडि भने, ‘सरकारका वित्तिए अनुसाशन उलंघनका १४० भन्दा बढी अख्तियारमा मुद्धा परेका छन्। १ अर्वको गोष्ठिहरु भए। यो अत्यन्तै डरलाग्दो कुरा हो। यसले हाम्रो चाहना के हो ? हाम्रो मुख्य चासो के हो भन्ने देखाउँछ। अर्को कुरा विचौलियाहरु मन्त्रलय वरीपरी छन्। संस्थासँग हाम्रो भरोसा किन गुम्दैछ?’

चालु आर्थिक वर्षमा जम्मा ६ प्रतिशत मात्र बजेट खर्च भएको रेग्मी दाबी छ। प्रदेश सभाको बैठकमा अधिकांश सांसदहरुले सरकारका कामको चर्को आलोचना गरेका थिए।