सर्भे भएको एक वर्षसम्म पनि पुलको निर्माण कार्य सुरु भएन



कालीकोट। कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडकसंँग जोड्न पुल बनाउने काम वर्ष दिन बितिसक्दा पनि सुरु भएको छैन। गत २०७५ साल पुसमा कर्णाली नदीमा पक्की पुल लगाउने भन्दै सर्भे भएको १३ महिना पूरा भयो। तर, हालसम्म पुल बनाउन कुनै पहल नभएपछि गाउँपालिकाले बेलिब्रिज जोड्ने निष्कर्ष निकालेको छ।

कर्णाली प्रदेश सरकारले पुलको सट्टा बेलिब्रिज लगाएर तत्काल यातायात सञ्चालनमा ल्याउने र सडकसंँग पचालझरना गाउँपालिका र पालाँता गाउँपालिकालाई जोड्ने योजनाका साथ सर्भेका लागि टोली पठाएको छ। पलाँता गाउँपालिकाको वडा ९ को वेल्केढुङ्गामा बेलिब्रिज लगाउन टोली कालीकोटमा आउँदै भनेर गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी गरेको केही दिनमा टोली त आयो।

उक्त टोलीले वेल्केढुङ्गामा सर्भे नगरेर पचालझरना गाउँपालिकाको केन्द्र रहेको जारकोटस्थित घाटलाइने ढुङ्गामा बेलिब्रिज जोड्ने भन्दै सर्भे ग¥यो। जुन ठाउँको नजिकै गत पुसमा पक्की पुल बन्ने भन्दै प्रदेश सरकारले सर्भे गरेको थियो।

फागुन १ गते पलाँता गाउँपालिकाले आफ्नो सार्वजनिक यातायात सञ्चालनमा ल्याउने उद्देश्यका साथ वेल्केढुङ्गामा बेलिब्रिज जोड्ने योजनाका साथ सर्भे टोली आउने बताएको थियो। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम काठमाडौँ रहेका बेला कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालयका सदस्य सुमन शाहीलाई पठाएर पलाँताको सट्टा पचालझरनामा बेलिब्रिजको सर्भे गराउँदा पलाँताका नागरिक चिढिएका छन्।

एसियाकै अग्लो पचाल झरना अवलोकनमा जानका लागि चाटेबगरमा पुल बने निकै सहज हुने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालको भनाई छ। उक्त पुल बनाउने काम १३ महिनासम्म सुरु नहुँदा बेलिब्रिज बनाउन प्रदेश सरकारलाई आग्रह गरिएको अध्यक्ष सेजुवाल बताउछन्।

पुल बनेमा पचालझरना गाउँपालिकाभित्रका पाँचवटा वडा र पलाँता गाउँपालिका कर्णाली करिडोरसँग जोडिने छ। पुल जहाँ बने पनि बन्नुपर्नेमा दुवै गाउँपालिकाभित्रका जनप्रतिनिधि एकमत भए पनि जनस्तरमा भने विरोध हुन थालेको छ। प्रेमराज सिम्खडाले यो समाचार गोरखापत्र दैनिकमा लेखेका छन्।